
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न बनेका उपसमितिका प्रतिवेदनमाथि छलफल हुनेछ ।
ती प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका प्रहरी हिरासतको अनुगमन प्रतिवेदन, २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका प्रहरी हिरासतको अनुगमन प्रतिवेदन, २०८१, र लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लाका प्रहरी हिरासतको अनुगमन प्रतिवेदन, २०८१ समावेश छन् ।
त्यस्तै, दिउँसो १ बजे बस्नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।