Logo
Logo

महायज्ञको नाममा दलित परिवारको उठीबास लगाउनेलाई कारबाही गर्न पूर्वप्रधानमन्त्री खनालको माग


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको भन्दै भत्र्सना गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले सो घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको बताइएको छ ।

हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घर भएको स्थानबाट अपबित्र भएको भन्दै २ फिट माटोसमेत खनेर फ्याँकिएको पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपाल एक बहुधार्मिक मुलुक रहेको र यहाँ सबै धार्मिक र सामाजिक समूहबीच समानता, सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुनुपर्ने खनालको भनाइ छ ।

नेपालमा दलितहरूको संख्या ३० लाखभन्दा बढी रहेको रहेको तर्फ पनि ध्यान पुर्याउन उनले आग्रह गरेका छन् । ‘म सिराहा जिल्लाको औरहीमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भत्सना गर्दछु,’ नेता खनालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्