Logo
Logo

गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शनले सुरक्षामा चुनौती, सुरक्षा समिति बैठकमा  छलफल


7.4k
Shares

काठमाडौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा )एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ । समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल  भएको बताइन्छ । 

केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आइजिपी दीपक थापा, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

बैठकमा पूर्वराजा समर्थकहरुको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ ।

‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’को प्रदर्शनलाई पनि केन्द्रीय सुरक्षा समितिले ‘सुरक्षा चुनौती’ भनेर विश्लेषण गरेको छ । फागुन १८ मा बानेश्वरको बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।

त्यसबेला पक्राउ परेका ५ महिला र ७ पुरुष माफी मागेर छुटेका छन् । प्युठानको स्वर्गद्वारी गुठीको नाममा दाङमा जग्गा छ । सो जग्गामा आफूहरूले खेतीपाती गरिरहेको हुनाले आफूहरूलाई मोहियानी हक दिनुपर्ने किशानहरुले माग राखेका छन् । उनीहरूले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्