Logo
Logo

जनमत र नाउपा एकतामा बाबुराम नेतृत्वको नेसपाको ‘इन्ट्री’ ?


819
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय गर्यो ।

नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ । जनमतले यसअघि नै कार्यदल बनाएर प्रक्रिया सुरु गरिसकेको छ ।

शनिबार नाउपा केन्द्रीय कार्य समितिको समापन सत्र चलिरिहेको थियो । उक्त बैठकमा जनमत पार्टी अध्यक्ष सिके राउत पुगेर सम्बोधन समेत गरे ।

उक्त बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नेसपा) की उपाध्यक्ष मानुषी यमी भट्टराई समेत सहभागी भइन् ।

मानुषी नाउपाको बैठकमा पुगेपछि बाबुराम पनि सिके र रेशमको एकता प्रक्रियामा मिसने चर्चा चल्यो ।नाउपासँगै एकता हुन लागेकाले जनमत अध्यक्ष राउत पुग्नुलाई सामान्य मानिए पनि नेसपा नेतृ भट्टराईसमेत सहभागी भएपछि ‘जनमत र नाउपाबीचको एकतामा नेसपा मिसिन लागेको हो कि’ भन्ने आशंका उत्पन्न भयो ।

फेरि नाउपा संरक्षक रेशम चौधरीको अभिव्यक्तिले नै त्यो आशंकालाई बल पुर्‍यायो। बैठकलाई सम्बोधन गर्दै उनले ‘तपाईँहरू पहिचानको मुद्दा उठाउनुस्, टाउकोमा राख्नुपर्‍यो भने म मेरी छोरी मानुषी पठाइदिउँला’ भनेर नेसपा अध्यक्ष भट्टराईले आफूलाई वचन दिएको सुनाए ।

उनले भने, ‘अब हामी एक हुन्छौँ, एक हुनुपर्छ। जनमत र नागरिक उन्मुक्ति पार्टी, पहिचानको मुद्दा, तपाईँ दुईजनाले उठाउनुस्, टाउकोमा राख्नुपर्‍यो भने म मेरी छोरी मानुषी पठाइदिउँला भनेर डा. बाबुराम भट्टराईले भन्नुभएको छ ।’

त्यसमा आशंका गर्ने अर्को ठाउँ नेसपाले नै गत महाधिवेशनमार्फत दिएको थियो । माघ अन्तिम साता भएको महाधिवेशनमा उसले अहिलेका प्रमुख तथा पुराना भनिएका दलहरूलाई ‘बाइकट’ गरेर नयाँ भनिएका रास्वपा, जनमत, नाउपा र विवेकशील साझा पार्टीलगायतलाई मात्रै निम्तो दिएको थियो।

तर नेसपा नेताहरूले एकताका सन्दर्भमा जनमत र नाउपासँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् । नेसपा उपाध्यक्ष ईश्वर रिजाल फरक कोणबाट चर्चा गरिए पनि यसमा सत्यता नभएको बताउँछन् । आफूहरू एकताभन्दा पनि अहिले पार्टी निर्माणको चरणमा रहेको उनको भनाइ छ ।

नाउपाको बैठकमा सामेल भएकी मानुषी स्वयंले पनि खण्डन गरेकी छन् । उनले रेशमको भनाइको गलत अर्थ लगाइएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्