Logo
Logo

लाल मोहम्मद हत्याका सुटरलाई थुनामा पठाउने आदेश


1.3k
Shares

काठमाडौं । दुई वर्षअघि गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले मोहम्मद हत्याका एक सुटर पटेललाई १८ फागुनमा गोली हानी पक्राउ गरेको थियो । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट गोठाटारमा मारिएका थिए ।

प्रहरीको दाबीमा, फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गर्दा गोली चलाउनु परेको थियो । उनको ट्रमा सेन्टरमा उपचारपछि प्रहरीले उनलाई अदालत हाजिर गराएको थियो ।

मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो ।

मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।

पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद मारिनुअघि गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्