काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादसहितलाई रिहाइ गर्न माग गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका व्यक्तिहरूलाई छलफलको लागि बोलाएर कुनै पूर्व जानकारी बिना थुनामा राखेको आरोप लगाएको छ ।

भोलिपल्ट, शनिबारकै दिन झूटा आरोप लगाई छुवाछुतसम्बन्धी मुद्दा लगाइएको जसपा नेपालको आरोप छ । जसपाले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ ।
जसपा नेपालका सिरहा जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा पार्टीले गाउँपालिका अध्यक्ष जस्तो सम्मानित पदमा रहेका जनप्रतिनिधिलाई अन्यायपूर्वक थुनामा राख्न नहुने भन्दै अविलम्ब रिहाइको माग गरेको छ ।
उनीहरू सवार मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको भन्दै जसपाले यसलाई मानवअधिकारको उल्लंघन भनेको छ ।
रिहाइ नगरे आन्दोलन चर्काउने समेत जसपा नेपालले चेतावनी दिएको छ । आगामी जेठ १७ गतेबाट हुने विष्णु महायज्ञको लागि गत फागुन १० गते गाउँपालिका अध्यक्ष यादवसहितले स्थानीय दीपक मरिक डोमको घर भत्काएका थिए ।
गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले गत शुक्रबार मात्रै पक्राउ गरिसकेको छ । शनिबार प्रहरीले तीनजनामाथि जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गरेको छ ।
सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्न समेत आज म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।