काठमाडौं । पाकिस्तानको ८५औँ राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौँस्थित पाकिस्तान दूतावासले झन्डोत्तोलन समारोह आयोजना गरेको छ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावास परिसरमा आयोजित उक्त समारोहमा पाकिस्तानका राजदूत अबरार एच हाशमीले पाकिस्तानको झण्डा फहराइका थिए । समारोहमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रीका सन्देशहरू वाचन गरिएको थियो ।

राजदूत अबरार एच हाशमीले समारोहमा दूतावास समुदायलाई बधाई दिँदै पाकिस्तानको स्वतन्त्रता आन्दोलनमा पूर्वजहरूको शान्तिपूर्ण सङ्घर्षको प्रशंसा गरे । उनले पाकिस्तानको प्रगति र समृद्धिको आधार एकता, कठोर परिश्रम र दृढ संकल्प भएको जिकिर गर्दै नेपालस्थित पाकिस्तानी समुदायलाई स्थानीय रूपमा संलग्न रहन र पाकिस्तान–नेपाल मित्रतालाई अझ मजबुत बनाउन योगदान दिन आह्वान गरे ।
राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो सन्देशमा पाकिस्तानका नागरिकहरूलाई बधाई दिँदै राष्ट्रिय संस्थापकहरू र पाकिस्तान आन्दोलनका योगदानकर्ताहरूको बलिदानको सम्मान गर्नुपर्ने बताए ।
उनले एकता, आस्था र अनुशासनको सिद्धान्त अपनाएर राष्ट्रिय सुरक्षा सुदृढ पार्न, अर्थतन्त्र सशक्त बनाउन, कृषि प्रवर्द्धन गर्न, ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न र युवाहरूका लागि अवसर सिर्जना गर्न सकिने बताए ।
पाकिस्तानले शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व र सशक्त अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता दोह्याएँदै उनले जम्मु(कश्मीर र प्यालेस्टाइनका जनताको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तानले निरन्तर समर्थन गर्ने कुरा पनि बताए ।
प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा २३ मार्चको ऐतिहासिक महत्वको चर्चा गर्दै यो दिनले दक्षिण एसियाको इतिहासमा महत्वपूर्ण मोड ल्याएको बताए ।
उनले ८५ वर्षअघि क्वैद (ए)आजम मुहम्मद अली जिन्नाहको नेतृत्वमा मुस्लिम समुदाय एकजुट भई १९४० को लाहौर प्रस्ताव पारित गरेको र १९४७ मा पाकिस्तानको स्थापना भएको स्मरण गर्दै देशको सार्वभौमिकता रक्षा गर्ने सुरक्षाकर्मीहरू र शहीदहरूको योगदानको उच्च सम्मान गर्नुपर्ने बताए।
विदेशमन्त्री मोहम्मद इस्हाक डारले विदेशमा बस्ने सम्पूर्ण पाकिस्तानीहरूलाई शुभकामना दिँदै उनीहरूको देशप्रतिको समर्पण र परिश्रमको प्रशंसा गरे। उनले कश्मीरी जनताको संघर्ष र बलिदानको सम्मान गर्दै पाकिस्तानले उनीहरूको आत्मनिर्णयको अधिकारका लागि कूटनीतिक, नैतिक र राजनीतिक समर्थन जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।