Logo
Logo

ओलीको निर्देशनमा गणेशलाई प्रेस चौतारी अध्यक्ष बनाउने प्रयास, राजेशको पक्षमा हस्ताक्षर सङ्कलन


3k
Shares

काठमाडौं । नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतरी नेपालको १०औं महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा जारी छ। नेतृत्व चयनका लागि आइतबार सुरु भएको महाधिवेशनमा राजेश राई र गणेश पाण्डे अध्यक्षका दाबेदार छन्।

पाण्डेलाई मातृपार्टी एमालेले नै सर्वसम्मत रूपमा अध्यक्ष बनाउन खोजेको छ । उनलाई अध्यक्ष बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै मौखिक निर्देशन दिएका छन् । महाधिवेशनको उद्घाटन गरेका पार्टी महासचिव शंकर पोखरेलले पनि ओलीकै भाषामा अध्यक्ष सर्वसम्मतिमा चयन गर्न निर्देश दिएका छन् ।

तर, राई भने केही गरी पनि नछाड्ने पक्षमा छन् । उनले प्रतिनिधिहरूले आफ्नो नेतृत्व आफैँ चयन गर्न पाउने अधिकारका निम्ति आफ्नो अडान कायम रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो उम्मेदवारी कायम छ। यसको जग नेतृत्वप्रतिको अगाध सम्मान र प्रतिनिधिहरूको गहिरो भावना हो। अरु सबै हल्ला हुन् ।’

यसअघि पार्टी महासचिव शंकर पोखरेलगायतका नेताहरूले राईसँग छुट्टै संवाद गरेका थिए । त्यस क्रममा पनि उनलाई त्यही भनिएको थियो । तर, राईले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका थिए ।

उनले चुनाव नै भए पनि लड्ने अड्डी कसेका छन् । अहिले उनको पक्षमा हस्ताक्षर सङ्कलन भइरहेको छ । त्यसो त यसअघि राईलाई नै अध्यक्ष बनाउने भनिएको थियो । त्यसमा ओलीसमेत सकारात्मक रहेका थिए । तर, चैत ६ गतेयता उनले पाण्डेलाई अध्यक्ष बनाउन चाहेको बताइन्छ । पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छ ।

पाण्डे यसअघि पार्टीको प्रचार विभाग सचिवको जिम्मेवारीमा थिए । उनले गत चैत ८ गते प्रेस चौतरीको अध्यक्षको दाबेदार रहेको भन्दै राजीनामा दिएका थिए । गत फागुन १८ गते बसेको एमालेको ४५औं केन्द्रीय सचिवालय बैठकले नियुक्त गरेको पाण्डेले २० दिनमै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्