काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि त्रसित प्रायः सबै गणतन्त्रवादी दलहरूले काउन्टर स्वरूप आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेका छन् ।
गत फागुन २५ गते राजावादीहरूले कांठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेदेखि नै कतिपय दलहरू त्रसित बन्न पुगे । त्यसपछि राजावादीहरूको सक्रियता र आन्दोलनका कार्यक्रम सार्वजनिक भयो ।
व्यवस्था नै परिवर्तन गर्ने उद्घोषसहित मोर्चा बन्दी गरेर राजावादीहरूले आन्दोलनमा उत्रिन थालेपछि सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमाले समेत सडक सङ्घर्षको कार्यक्रम घोषणा गर्न बाध्य भयो ।
एमालेले चैत ११ र १८ गते देशभरका वडामा प्रदर्शन र विरोध सभा गर्ने घोषणा गरिसकेको छ । राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेकाले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले अभियान घोषणा गरिएको एमालेले जनाएको छ ।
संविधान र गणतन्त्र रक्षाको लागि भन्दै चार दलीय समाजवादी मोर्चाले यसअघि चैत्र १५ गते वृहत् प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । समाजवादी मोर्चाले वृहत् प्रदर्शन गर्ने घोषणा गरेकै दिन विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेको छ । जसले दुई पक्षबीचमा मुठभेडको खतरा समेत बढ्दै गएको छ ।
कोही राजा ल्याउन र कोही गणतन्त्र बचाउन भन्दै सडकमा हाम फालिरहेको बेला संसद्को सबैभन्दा ठूला दल नेपाली कंग्रेसले भने अहिलेसम्म कुनै पनि औपचारिक निर्णय गरेको छैन । राजावादीको आन्दोलनबारे निर्णय लिन भन्दै आइतबार बसको काँग्रेसको कार्यसम्पादन बैठकले समेत निष्कर्ष निकाल्न सकेन ।

बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने बताए । उनले भने– ‘अहिल्यै हामी शक्ति प्रदर्शन गर्ने आवश्यकता ठानेका छैनौं। संविधानका खिलाफ भइरहेका गतिविधिबारे पार्टी संरचनामा छलफल गरिरहेका छौँ। सबै राय सुझावअनुसार नै अघि बढ्छौँ ।’
राजतन्त्र पुनर्स्थापनाको एजेन्डालाई लिएर सडकमा देखिएको उपस्थितिलाई हेर्ने विषयमा कांग्रेसमा फरक मत देखा परेपछि कांग्रेस एउटा निष्कर्षमा पुग्न सकेको छैन । सभापति शेरबहादुर देउवासहितका केही नेताहरू राजतन्त्र पुनःस्थापनाको आन्दोलनविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने पक्षमा देखिएका छन् । उनीहरू सार्वजनिक रूपमै गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने दाबी गर्दै आएका छन् ।
तर महामन्त्री गगन थापा र डाक्टर शेखर कोइराला सहितका नेताहरू भने आन्दोलनलाई एकपक्षीय रूपमा मात्रै हेर्न नहुने र सडकमा युवा पुस्तासमेत आएको कुरालाई ध्यान दिनुपर्ने पक्षमा देखिएका छन् । शेखरले त जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ भन्दै ज्ञानेन्द्र शाहलाई पूर्वराजा होइन राजाकै रूपमा सम्बोधन गर्ने गरेका छन् ।
कांग्रेसभित्र राजावादीको आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर मतभेद भएपछि गणतान्त्रिक दलहरूबिच मोर्चा बनाउने तयारी समेत रोकिएको छ । गणतन्त्र पक्षधरहरूको मोर्चा बनाउने र त्यसले व्यवस्थाको पक्षमा विभिन्न किसिमको गतिविधि गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा कांग्रेस सभापति देउवा सहमत भएका थिए ।
कांग्रेसमा गणतान्त्रिक मोर्चा बनाउने र प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर गणतन्त्रको पक्षमा आह्वान गर्ने तयारी भएपनि कांग्रेसभित्रको मतभेदका कारण रोकिन पुगेको छ ।
कम्युनिस्ट पार्टीहरूको प्रस्ताव र एजेन्डामा भन्दा पनि पार्टी आफ्नै विचारबाट अघि बढ्नु पर्ने दबाब बढ्दो छ । धर्म निरपेक्षता, सङ्घीयता, राजतन्त्रबारे पार्टीले लिएको नीतिमा पुनःविचार हुनुपर्ने शशाङ्क कोइराला, शङ्कर भण्डारी, मिनेन्द्र रिजालसहितका नेताहरूको मत छ ।
यसले धर्म निरपेक्षता र सङ्घीयतासँग राजावादी पनि जोडिएका हुन् कि भन्ने आशङ्का पैदा भएको छ । जसले गर्दा राजावादी र हिन्दू राष्ट्रको अन्योल चिर्न कांग्रेसलाई दबाब परेको छ । के कांग्रेस गणतन्त्रको विषयमा निरपेक्ष हो ? प्रश्नको विषय बनेको छ ।