Logo
Logo

पूर्वराजालाई ‘राप्रपा सभापति’ बन्न भनेपछि देउवामाथि खनिए ज्ञानेन्द्र


8.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही आक्रोशित भएका छन् ।

आइतबार एक कार्यक्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको र राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘सभापति’ बनाए हुन्छ भन्ने टिप्पणी गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

देउवाले भनेका थिए, ‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, राजनीति गर्नु छ भने बरु पार्टी खोले भइहाल्यो । नत्र दुःख पाउँछन् विचरा राप्रपा नेता–कार्यकर्ताहरूले ।’

संघीय सांसद समेत रहेका शाहीले देउवालाई बीपी कोइरालाको सिद्धान्त बेचेर खाएको आरोप पनि लगाएका छन् ।

‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू ! हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ । राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ’, शाहीले लेखेका छन्, त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो ?’

राप्रपा प्रवक्ता शाहीले राजाका विषयमा कांग्रेसको धारणा बुझ्न देउवालाई पार्टीभित्र चुनाव गराउन चुनौतीसमेत दिएका छन् ।उनले भनेका छन्, ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू ! यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ? हिम्मत छ ?’

प्रतिक्रिया दिनुहोस्