काठमाडौं । असफल सैनिक ‘कू’को प्रयासपछि महाभियोग लगाइएका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ । दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।

राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यवाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो । त्यसको तीन महिनापछि संवैधानिक अदालतले निर्णय सुनाउँदै हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको लगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, ‘बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौं ।’
समाचारमा बताइएअनुसार सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँचजना न्यायाधीशले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यवाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए ।
तर, दुई न्यायाधीशले भने संसदको दुईतिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव अवैध रहेको बताएका छन् । रोयटर्सको समाचार अनुसार एकजना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनुपर्ने पक्षमा मत दिएका थिए ।
बहुमत न्यायाधीशबाट महाभियोग प्रस्ताव अस्वीकृत भएपछि हानको कार्यवाहक राष्ट्रपतिको पद थमौती भएको हो । गत डिसेम्बरमा राष्ट्रपति युनले मुलुकमा शैनिक शासन लागू भएको घोषणा गरेका थिए । यद्यपि उनको घोषणालाई केही घन्टामै दक्षिण कोरियाली संसदले उल्ट्याएको थियो । त्यसपछि संसदले उनीमाथि महाभियोग लगाएको थियो ।