Logo
Logo

४२ वर्षपछि पुग्यो बागलुङको लामीचौरमा खानेपानी


441
Shares

बागलुङ । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब २०० घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दै आएका थिए ।

एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपालि नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब १७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमितरूपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए ।

गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ’, अध्यक्ष थापाले भने । नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाखको लागतमा पानी निकालिएको हो । ‘सिङ्गो गाउँमा पानीको समस्या थियो, २०० घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए’, उनले विगतको समस्या बताए ।

स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्