विराटनगर । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व एकलौटी घोषणाको तयारी भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा गर्ने तयारी भएको हो ।

पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा गर्ने तयारी भएपछि अध्यक्षका अर्का दावेदा राजेश राई पक्षले भने निर्वाचनको माग गरिरहेका छन् । निर्वाचन नभएको खण्डमा समानान्तर कमिटी घोषणा गरेर अगाडि बढ्ने सो पक्षले तयारी गरेका छन् ।
राजेश राई पक्षका एक पत्रकारले आफूहरु लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्नुपर्ने रहेको भन्दै एकलौटी टिम घोषणाको तयारी भएको बुझिएको बताए । यदि त्यस्तो भएमा आफूहरुलाई मान्य नहुने उनले बताए । यसअघि नै राई पक्षले निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाएको थियो । सो अभियानमा १५० जनाले हस्ताक्षर गरिसकेपछि अध्यक्ष गणेश बस्नेतको दबाब रोकिएको थियो ।
अधिवेशन उद्घाटन समारोहमा आएका एमाले महासचिव शंकर पोखरेल, एमाले सचिव तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनवर्गीय सङ्गठनका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, कोशीका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मतकुमार कार्कीलगायतले सहमतिका लागि आग्रह गरेका थिए । यद्यपि, राई पक्षले भने निर्वाचनकै माग गरिरहेको छ । निर्वाचन नभए समानान्तर कमिटी घोषणा गर्न अहिले राई पक्ष जुटिरहेका छन् ।