काठमाडौं । नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा जारी छ। नेतृत्व चयनका लागि आइतबार सुरु भएको महाधिवेशनमा राजेश राई र गणेश पाण्डे अध्यक्षका दाबेदार छन् ।
तर, नयाँ नेतृत्व एकलौटी घोषणाको तयारी भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा गर्ने तयारी भएको हो ।

पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयोजनसहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको १० मिनेटमा निर्वाचन परिणाम घोषणा तालिका रहेको छ । सोमबार अपराह्न ४ः२० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ः३० बजे निर्वाचन परिणाम घोषणा सूचनामा उल्लेख छ ।
मतदान नगराई ‘सर्वसम्मत’ नेतृत्व छनोट गर्ने तयारी सहित यो सूचना जारी भएको हो । मतदानको समय सूचनामा उल्लेख नै छैन । मतदान केन्द्र भने विराटनगरको होटेल मनास्लु इनमा तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन परिणाम घोषणामा जम्माजम्मी १० मिनेटको अन्तराल राखिएकाले चुनाव नगराइने आशङ्का प्रतिनिधिले गरेका छन् ।
सूचना अनुसार दिउसो १ बजे पहिलो मतदाता नामावली प्रकाशन भई दावीविरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसपछि पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
तर, उम्मेदवारहरूले मनोनयन दर्ताका लागि फारम माग्दा अध्यक्ष मण्डलले नदिएको त्यहाँ रहेका एक प्रतिनिधिले जानकारी दिए ।
चुनावमा मनोनयनका लागि तोकिएको शुल्कप्रति पनि आकाङ्क्षीहरू असन्तुष्ट छन् । शुल्क अत्यधिक महँगो भएको उनीहरूको गुनासो छ । सूचना अनुसार अध्यक्षमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।
पदाधिकारीका लागि २५ हजार, आयोग अध्यक्षका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ । उक्त शूल्कबारे पनि आलोचना भइरहेको छ । ‘उम्मेदवारी शुल्क देखेर उम्मेदवारका आकंक्षी महाधिवेशन स्थलमै ढल्ने जोखिम’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग हुन थालेको छ ।

यसले पनि पाण्डेलाई अध्यक्ष बनाउन खोजेको स्पष्ट हुन्छ । उनलाई अध्यक्ष बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका छन् ।
महाधिवेशनको उद्घाटन गरेका पार्टी महासचिव शंकर पोखरेलले पनि ओलीकै भाषामा अध्यक्ष सर्वसम्मतिमा चयन गर्न निर्देश दिएका थिए ।
तर, राई भने केही गरी पनि नछाड्ने पक्षमा छन् । उनले प्रतिनिधिहरूले आफ्नो नेतृत्व आफैँ चयन गर्न पाउने अधिकारका निम्ति आफ्नो अडान कायम रहेको बताएका छन् । राईले समान्तर कमिटी गठनको तयारी थालेका छन् ।
यसअघि पार्टी महासचिव शंकर पोखरेलगायतका नेताहरूले राईसँग छुट्टै संवाद गरेका थिए । त्यस क्रममा पनि उनलाई त्यही भनिएको थियो । तर, राईले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका थिए ।
उनले चुनाव नै भए पनि लड्ने अड्डी कसेका छन् । अहिले उनको पक्षमा हस्ताक्षर सङ्कलन भइरहेको छ । त्यसो त यसअघि राईलाई नै अध्यक्ष बनाउने भनिएको थियो । त्यसमा ओलीसमेत सकारात्मक रहेका थिए । तर, चैत ६ गतेयता उनले पाण्डेलाई अध्यक्ष बनाउन चाहेको बताइन्छ । पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छ ।
पाण्डे यसअघि पार्टीको प्रचार विभाग सचिवको जिम्मेवारीमा थिए । उनले गत चैत ८ गते प्रेस चौतारीको अध्यक्षको दाबेदार रहेको भन्दै राजीनामा दिएका थिए । गत फागुन १८ गते बसेको एमालेको ४५औँ केन्द्रीय सचिवालय बैठकले नियुक्त गरेको पाण्डेले २० दिनमै राजीनामा दिएका हुन् ।