काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको सामान खरिदमा व्यापक भ्रष्टाचार भएको छ । विगत १ वर्ष देखि निमित्तको भरमा चलेको भक्तपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशककै मिलेमतोमा न्यूरो माइक्रोस्कोप खरिद गर्न लाग्दा लागत मूल्यभन्दा बढी मूल्यको स्पेक तयार पारेपछि भ्रष्टाचारको गन्ध आएको हो । सो समानहरु बजार मूल्यभन्दा डबल मुल्यमा खरिद लागिएको छ ।

यसका लागि विवादित सप्लायर सर्जिमेड, वायोमेडलाई डब्बल मूल्यमा न्यूरो माईक्रोस्कोप खरिद गर्न कार्यकारी निर्देशक उज्ज्वल चालिसे, वायोमेडिकल ईन्जिनियर डा राजीव शाहको मिलेमतो रहेको स्रोतले जनाएको छ । सामान खरिद स्पेक लक गरी उमेश अग्रवाल र चेतन अग्रवालको वायोमेड ईन्टरनेशनललाई दिन लागिएको हो । बजारमा ६० लाख पर्ने माइक्रोस्कोपलाई १ करोड ३० लाख रुपैयाँमा खरिद गर्न लागिएको छ ।
बायोमेड इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक रहेका उनी नेपालमा अस्पताल एवं सर्जरी क्षेत्रमा आवश्यक पर्ने डेन्टल लगायतका मेडिकल इक्विपमेन्टहरु आयात गर्ने काममा विगत ६ दशकदेखि सक्रिय रहँदै आएका छन् ।
नेपालमा मेचीदेखि महाकालीसम्म नै आफ्ना उत्पादनहरू बिक्री वितरण गर्ने भन्दै विभिन्न समयमा प्रचारवाजी गर्ने उनले नै भक्तपुर अस्पतालमा दिन लागेको सामान बढी मूल्यको रहेको हो । कोरोना संक्रमणकालमा अग्रवालको कम्पनीले सामान दिदा सबैभन्दा बढी मूल्य लिएको भन्दै विवाद भएको थियो । अहिले तिनै अग्रवालले भक्तपुर क्यान्सर अस्पताललाई डुबाउन खोजेका छन् । त्यसमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको समेत मिलेमतो रहेको स्रोतले जनाएको छ ।
केन्द्रीय अस्पतालसरह सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टर विगत १ बर्षदेखि निमित्तको भरमा चलेको छ । तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताल सञ्चालन गर्नका लागि बैकल्पिक ब्यवस्था निमित्त कार्यकारी निर्देशकको रुपमा डा. उज्ज्वल चालिसेलाई पठाएका थिए ।
कन्फर्म कार्यकारी निर्देशकका रुपमा रहेका डा. ऋषिकेशनारायण श्रेष्ठ उमेरहदका कारण अवकाश भएपछि चालिसेले निमित्त पाएका हुन् । नवौं तहका चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउँदा पनि तत्कालीन मन्त्री यादवले मोटो रकम असुली गरेको आरोप लागेको थियो । अहिलेका मन्त्री प्रदीप पौडेलले पनि उनलाई संरक्षण गरिरहेका छन् ।
अस्पतालको स्वास्थ्य उपकरण र औषधि खरिदको रकम गत आर्थिक बर्षमै भुक्तानी गर्न बाँकी रहेको थियो । सो रकम भुक्तानी गर्दा मोटो कमिसन प्राप्त हुने प्रलोभनले यादवले चालिसेलाई निमित्त डाइरेक्टर बनाएका थिए । यादवले सरुवा र नियुक्तिसम्बन्धी पहिलो निर्णय चालिसेकै हकमा गरेका थिए । प्रदीप पौडेलले पनि संरक्षण गरेपछि थप शंका उत्पन्न भएको छ ।
कुनै पनि कर्मचारीलाई निमित्त प्रमुख दिंदा तीन महिनाका लागि दिइन्छ । तर राजधानीकै मुटु भक्तपुरमा रहेको केन्द्रीय अस्पताल जस्तो निकाय अहिले पनि निमित्तकै भरमा संचालन भइरहेको छ । स्रोतका अनुसार कास्की घर भएका चालिसे वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलका सहपाठी हुन् । सहपाठी भएकै कारण मन्त्री पौडेलले अन्य अस्पताल र निकायमा कर्मचारीको सरुवा गर्दा उनलाई यथावत राखेका छन् ।
भक्तपुर क्यान्सर अस्पताल संचालन गठन आदेशमा ११ तहको कर्मचारी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुने ब्यवस्था छ । क्यान्सर अस्पतालमा कार्यरत नभए नेपालका ११ तहमा कार्यरत जुनसुकै अस्पतालका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउन सकिने प्रावधान छ । तर सुशासनको रटान लगाउने र स्वास्थ्य क्षेत्रको सुधारको भाषण गर्दै आएका युवा दाबी गर्ने मन्त्री पौडेलले निमित्तकै भरमा अस्पताल संचालन गर्न खोज्नुमा सहपाठीमात्र नभएर आर्थिक पाटो पनि जोडिएको स्रोतको दावी छ ।
सुरुमा अर्बुद रोग निवारण संस्थाबाट संचालित उक्त अस्पताल भक्तपुर नगरपालिकाले बलजफ्ती लिएको थियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका पालामा उक्त अस्पताल संघीय सरकारले नै संचालन गर्नेगरी गठन आदेश जारी गरिएको थियो ।
संस्थाले संचालन गर्दा असन्तुष्टि जनाएर जबर्जस्ती हस्तक्षेप गरेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले त्यस अवधि भन्दा अहिले अस्पतालको बेथिति चरम रुपमा बढ्दा पनि चुईक्क बोल्ने हिम्मत गरेका छैनन ।