Logo
Logo

कांग्रेस र एमालेका गुण्डाबीच लफडा


8.1k
Shares

मोरङमा कांग्रेस र एमालेका गुण्डाबीच लफडा परेको छ । कांग्रेसका अभिषेक गिरी र एमालेका किरण लामा, रोनाल कँडेलबीच क्यासिनोको विषयलाई लिएर लफडा परेको बताइन्छ ।

विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा अभिषेक गिरी समूहले दादागिरी देखाउन खोज्दा दुई समूहबीच अहिले जहाँ भेट्यो त्यही हान्ने स्थिति बनेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयले राम्रोसँग ध्यान नदिदा धमाधम नेपाली छिराइरहेको सो क्यासिनोमा गिरीले दादागिरी देखाउदा लामा र कँडेल समूह कुटपीटमा उत्रेको हो ।

कसले बढी नेपाली छिराउने भन्ने विषयमा विवाद हुँदा गुण्डा समूहका दुई व्यक्तिहरुबीच टकराव उत्पन्न भएको थियो । क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको हो । त्यस क्रममा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका थिए । रत्ना होटलको क्यासिनो परिसरमा विवादास्पद पृष्ठभूमिका रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको मोरङ प्रहरीका एक अधिकारीले बताए ।

स्रोतका अनुसार गिरीलाई क्यासिनोभित्र प्रहरीले नै छिर्न दिएको र त्यसदिन पनि गिरी क्यासिनोभित्रै रहेका थिए । उक्त क्यासिनोमा गिरीलगायतको लगानी रहेको बताइए पनि एकिन भने भएको छैन । प्रहरी स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको थियो । कँडेलसहितले गिरीलाई गमलाले प्रहार गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा दुबै समूह भागिसकेको थियो । प्रहरीमा आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएका छन् । निकेश अपराधिक पृष्ठभूमिका अभिषेक गिरीका भतिज हुन् ।

जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको बताइएपनि अहिलेसम्म कोही पक्राउ परेका छैनन । स्रोतका अनुसार अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा थिए । राति करिब १२ बजे कँडेल र लामा क्यासिनोमा पुगेका थिए । बाउन्सरले उनीहरूलाई प्रवेश गर्नबाट रोकेपछि झगडा भएको थियो । बारम्बार भित्र छिरेर लफडा गर्ने गरेका कारण रत्नाको क्यासिनोमा उनीहरूलाई प्रवेश निषेध थियो ।

बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोज्दा झन लफडा भएको थियो । बाउन्सरले निकेशलाई भित्र जान दिएपछि मदिरा सेवन गरेका कँडेल र लामाले निकेशमाथि हातहालेका थिए ।

निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आएका थिए । अभिषेक सधैँ ५–६ जनाको समूहमा हिँड्छन् । अभिषेक बाहिर आएपछि दुई समूहबीच भनाभन भएको थियो । कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरूको घर पुगेको थियो। दुवै पक्ष मिटरब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो । जग्गाको कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन् । लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन् । उनलाई विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । कँडेल पटकपटक विवादित पात्र हुन ।

मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन्। २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो। २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।

विराटनगर महानगरपालिका–११ का ३२ वर्षीय कँडेलसहितले पूर्वमन्त्री तथा नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरा दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय ध्रवराज चौधरी र उनका साथी २७ वर्षीय बालकृष्ण चौधरीलाई गत भदौ १ गते आक्रमण गरेपछि ज्याज मार्ने उद्योगको जाहेरी परेको थियो । २०८० पुस २७ गते होटल बिगको क्यासिनो भित्र भएको विवादका कारण बाहिर कँडेलमाथि खुकुरी प्रहार भएको थियो । कँडेलको गुण्डागर्दी विराटनगरको बसपार्कबाट सुरु भएको थियो ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेस नेताहरूको संरक्षण छ । गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साल साउन तेस्रो साता पक्राउ परेका थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका हुन ।

कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउदै आएका छन् । कारागारबाट छुटेपछि उनले ‘गिरी फाण्डेशन’ खोलेका छन् । गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी ‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन् । कारागारमा हुँदा चौकीदार भएका गिरी पटकपटक विवादमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्