Logo
Logo

मुस्लिम आयोगका काबा अध्यक्ष भ्रष्टाचारमा मुछिए


2k
Shares

काठमाडौं । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अली भ्रष्टाचारमा मुछिएका छन् । अलीले भ्रष्टाचार गरेको दाबीसहित कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । अख्तियारमा परेका उजुरीको दर्ता नम्बर सी ००९४८९ रहेको छ ।

काठमाडौँ महानगरपालिका सामाखुशीस्थित आफ्नै घरमा बस्दै आएका अलीले भाडाको घरमा बसेको भनी ढाँटछल गरी घरभाडाबापतको रकम मुस्लिम आयोगबाट प्रत्येक महिना १८ हजारका दरले बुझ्दै आएका छन् । उनी चार वर्षअघि मुस्लिम आयोगको सदस्यमा नियुक्त भएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी छवर्षे कार्यकाल पूरा गरी यही चैत ७ गते बिदा भएपछि वरिष्ठ सदस्यको हैसियतमा अलीले केही दिनअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

राज्यकोषबाट गैरकानुनी लाभ प्राप्त गरेको र नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको भन्दै उनीमाथि कारबाहीको माग गरिएको छ । ‘अलीले अधिकारको दुरुपयोग गरेको हुँदा भ्रष्टाचारको कसुरमा छानबिन गरी कारबाही गरी पाउन यो निवेदन पेश गरिएको छ । निष्पक्ष रुपले छानबिन गरी कारबाही गरी पाउँ’ अख्तियारमा दायर निवेदनमा भनिएको छ ।

अख्तियारले उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रिपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उजुरी पठाएर आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले मुस्लिम आयोगलाई वास्तविकता के हो भनी सोधेको थियो ।

त्यसपछि अलीले काठमाडौँको घर भत्केकाले भाडामा बस्नुपरेको भन्दै अख्तियारबाट जोगिन खोजेको स्रोतको दाबी छ । उनले आफ्नै घरमा बसोबास गरेर भाडामा बसेको भनी सुरुमा घरभाडा लिएका थिए । पछि अख्तियारमा उजुरी परेपछि घर मर्मतमा रहेकाले भाडामा बसेको भनेर राज्यलाई नै ढाँटेका छन्’, स्रोतले भन्यो ।

उनले घरघाडाबापत साढे ८ लाखभन्दा बढी बुझिसकेका छन् । राज्य स्रोतमा हानीनोक्सानी पु¥याउने व्यक्तिलाई संवैधानिक आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । उनले छोरा मक्सुद अलीलाई स्वकीय सचिव बनाएर सेवा सुविधा दिलाएका छन् । सुदुरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अलीलाई संरक्षण गरिरहेको स्रोतको दाबी छ । अली र मियाँ नातामा दाजुभाइ पर्छन् ।

प्रतिक्रिया दिनुहोस्