Logo
Logo

हुवावेको खर्चमा सचिव अर्यालको टोलीको स्पेन सयर


3k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार संस्थान(टेलिकम)की अध्यक्षसमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल नेतृत्वको टोलीले बिदेश भ्रमणका क्रममा देशकै बेइज्जती गर्ने काम गरेको समाचार छ ।

स्पेनको वार्सिलोनामा फागुन १९ देखि २२ गतेसम्म भएको ‘मोबाइल वल्र्ड कंग्रेस’मा सचिव अर्यालको नेतृत्वमा गएको टोली कार्यक्रममा भागै नलिई घुमघाम र सपिङ गरेर फर्किएको छ । सचिव नेतृत्वको टोलीलाई फोरजीको ठेक्का पाएको कम्पनी हुवावेले सपिङको सम्पूर्ण खर्च ब्यहोरेको स्रोत बताउँछ । जुन कार्यक्रमका लागि गएको हो, सो कार्यक्रममा भाग नलिएपछि नेपालको अन्तर्राष्ट्रिय बेइज्जती भएको छ ।

उक्त कार्यक्रममा भाग लिन जानेहरुमा सञ्चार सचिव अर्याल, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, सञ्चार मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका सहसचिव कोषहरि निरौला, नेपाल टेलिकमका पूर्व एमडी डिल्लीराम अधिकारी र टेलिकमका बोर्ड सदस्य मनिषजंग जोशी थिए । शर्मा र निरौला पनि नेपाल टेलिकमका बोर्ड सदस्य हुन् ।

त्यसैगरी सञ्चार मन्त्रालयका उपसचिवद्वय सुरत पोखरेल, कृष्णप्रसाद शर्मा, सञ्चार मन्त्रीका सञ्चार विज्ञ शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु अमर स्थापित, विजय रोय, नेपाल दूरसञ्चार प्राधिकरणका संचालक समिति सदस्य गोकर्ण सिटौला पनि थिए ।

टेलिकम स्रोतका अनुसार सचिव अर्यालको टोली कूटनीतिक राहदानी प्रयोग नगरी ब्यक्तिगत राहदानीका पेश गरी स्पेनमा गएको थियो । तीन गुणा बढी लागत बढाएर १८ अर्बमा लिएको फोरजीको ठेक्कामा स्मल सेल कीर्ते गरेको बिषयमा अख्तियारले छानबिन गरिरहेको अवस्थामा क्लोजिङ गरी सबै भुक्तानी गराउनका लागि हुवावेले उनीहरुको वार्सिलोना सयर सपिङ गराएको छ ।

हुवावेले टेलिकमका अध्यक्षदेखि बोर्ड सदस्यहरु प्रायः सबैलाई खुसी पारेर भुक्तानी गराउन हुवावेले भ्रमण र सपिङ गराएको स्रोतको दाबी छ । जसको समन्वय टेलिकमका पूर्वएमडी डिल्लीरामले गरेका थिए । हुवावेको कब्जामा टेलिकम चलिरहेको छ भन्ने कुरा त स्पेन भ्रमणले पुष्टि गरेको टेलिकम स्रोत बताउँछ । विदेश भ्रमण भनेपछि हुरुक्कै हुने सचिव अर्यालले १ महिनाको बीचमा अमेरिका र स्पेन सयरमा गइसकेकी छन् ।

फोरजीको ठेक्का क्लोज गरी बाँकी भुक्तानी गराउनका लागि टेलिकम बोर्डका सबैलाई खुसी पारेपछि अख्तियारले छानबिन गरिरहेको स्मल सेल कीर्ते प्रकरणलाई समेत मिलाउने आश्वासन सञ्चार मन्त्रालयका सहसचिव कोषहरि निरौलाले हुवावेलाई दिएको बताइन्छ । उनले अख्तियारका आयुक्त मिलाएर स्मल सेलको छानबिन सेटल गरेर बाँकी भुक्तानी दिई क्लोज गर्ने आश्वासन हुवावेलाई दिएको स्रोत बताउँछ ।

अख्तियारमा हुँदा निरौलाले राष्ट्रिय सूचना प्रबिधि केन्द्रको नेशनल पेमेन्ट गेटवे र टेलिकमको भ्रष्टाचारको सूचना तत्कालीन मुख्यसचिव बैकुन्ठ अर्यालसमक्ष पुर्याएको थाहा पाएपछि प्रमुख आयुक्तले उनलाई सरुवा गरेका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत एक कर्मचारीमार्फत् उनले उक्त सूचना अर्यालकोमा पुर्याउने गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्