काठमाडौं । आन्दोलनको मौसम सुरु भएको छ । गएको फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रोशपूर्ण भीडबाट उत्साहित भएका राजावादीहरुले चैत १५ गतेपछि पनि लगातार शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।

राजावादीहरु आन्दोलनमा दमन होस् र भड्कियोस् भन्ने चाहिरहेका बेला काठमाडौं उपत्यकाको शान्ति सुब्यवस्थाको कमाण्ड सम्हालेका एसएसपी श्यामकृष्ण अधिकारी भने प्रमुख जिल्ला अधिकारीले बोलाएको महत्वपूर्ण बैठकमा समेत जाँदैनन् ।
बिहान ७–८ बजेदेखि नै मदिरापान गर्ने, निवासमै बस्ने, कार्यालयमा समेत नजाने गरेको आरोप एसएसपी अधिकारीमाथि लागेको छ । एसएसपी अधिकारीले विवादित प्रहरी निरीक्षक वीरेन्द्र बोहरालाई काजमा ल्याएर तीन वटा जिम्मा दिएका छन् । ठाडो उजुरी, इन्टेलिजेन्स, फैसला कार्यान्यवनको समेत बोहरालाई नै जिम्मा दिइएको छ ।
बोहराले शान्ति सुरक्षाको निवेदनमा समेत घुस माग्ने गरेको सेवाग्राहीको गुनासो छ । घुस नदिए नागरिकको काम बिगार्ने, दुःख दिने काम उनले गरेका छन् । यसअघि प्रहरी बृत्त सातदोबाटोको मुद्दा फाँटमा सेवाग्राहीसँग घुस मागेर हैरान पारेपछि डीएसपी मदन केसीले तत्कालीन एसएसपी यज्ञविनोद पोखरेलले तानेका थिए ।
सातदोबाटोमा सेवाग्राहीलाई सास्ती दिएर तानिएका तिनै इन्स्पेक्टर बोहरालाई एसएसपीले ललितपुर परिसरको हर्ताकर्ता बनाएका छन् । कार्यालय प्रमुख कार्यालयमा नआई निवासमै खाईपिई बस्नेगरेकाले बोहरालाई परिसरको छायाँ प्रमुखको संज्ञा दिने गरिएको छ ।
बोहराले परिसरबाट असुली अभियान चलाएर एसएसपी अधिकारीलाई बुझाउने सर्तमा काजसरुवा मिलाएको बताइन्छ । फैसला कार्यान्वयनमा रहेकी सई पार्वती उपाध्यायसँग समेत पछिल्ला दिनमा बोहराको कटुता बढेको छ । फैसला कार्यान्वयनको घुसको हिस्सा पनि खोजेपछि सई उपाध्यायसँग उनको मनमुटाव भएको स्रोतको दाबी छ ।
एसएसपी अधिकारीले सई पार्वती उपाध्यायलाई समेत असुलीमा लगाएको आरोप छ । गएको पुस २५ गते सानेपास्थित ट्रान्सपोर्ट ब्यवसायी बालकृष्ण पोख्रेलको गोदाममा छापामारी बरामद कपडा बरामद प्रकरणमा सई उपाध्याय विवादमा परेकी छन् ।
तस्करीका कपडा भन्दै सुरुमा पोखरेलका कर्मचारीसँग मोलतोल गरेको र नमिलेपछि बरामद गरेर राजस्व अनुसन्धान बिभागमा बुझाइएको थियो । तर राजस्व अनुसन्धान बिभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले प्रहरीले दुःख दिनमात्र कपडा बरामद गरेको प्रतिक्रिया दिएका थिए ।
भन्सार तिरेर ल्याएको कपडासमेत दुःख दिने नियतले बरामद गरेर ब्यापारीलाई हैरानी दिने र राजस्वलाई समेत अनावश्यक झन्झट दिने काम नगर्न पनि प्रहरीलार्ई सुझाव दिएका थिए ।
त्यसो त क्यान्सर लगायतका प्राणघातक रोग ठीक पार्ने भन्दै प्रहरीको संरक्षणमा आरुष आयुर्वेदिक क्लिनिक लुभू ललितपुरद्वारा संचालित औषधि पसलले काठको धुलोलाई औषधि भन्दै बिक्री बितरण गर्दैआएको बिषयमा समाचार आएपछि एसएसपी अधिकारीले पत्रकारलाई धम्क्याएको आरोप छ ।
उनले क्यान्सर जस्ता रोग निको पार्ने भनेर काठको धुलो बिक्री गरी ठगी गरिरहेकोबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा एसएसपी अधिकारीले ‘किन त्यो पसलमा गएको, प्रहरी कार्यालयमा आउनू’ भन्दै अप्रत्यक्ष धम्की दिएका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको निर्देशनमा केही दिनअघि उक्त औषधि पसल बन्द गरिएको छ ।
त्यसो त एसएसपी अधिकारी यसअघि बाँकेमा एसपी हुँदा नेपालीलाई क्यासिनोमा प्रवेश गर्न छुट दिएर लाभ लिएकोमा विवादमा परेका थिए । अधिकारी बाँकेको एसपी हुँदा भएको एक अपहरण घटना चर्चित छ । भारतको बहराइच घर भई नेपाली युवतीसँग बिहे गरेर नेपालगञ्ज बस्दै आएका अतित खान (बिक्की) लाई एक समूहले स्टार लाइट होटलस्थित लक्की स्टार क्यासिनोबाट अपहरण गरेको थियो ।
डिएल टुसी एकएक्स ७८७८ नम्बरको गाडीमा राखेर एक समूहले उनलाई डुडुवा पुर्यायो । त्यहाँ कुटपिट गरी मार्ने समेतको योजना बनेको थियो । तर, उनलाई गाडीमा हालेर लैजादै गरेको दृश्य होटलको सिसिक्यामेरामा कैद भएपछि सो समूहले बिक्कीलाई वडा प्रहरी कार्यालय, नेपालगञ्जमा लगेर थुनेको थियो । उनीसँग भएको सुन तथा गहना सो समूहले् लुटेका थियो ।
भारतीय नागरिक पंकज श्रीवास्तव, अश्विनी सिंह, अनुस्मान सिंह तथा नेपालीहरु अनुराग शाह, सुरेश कुर्मी लगायतले त्यसरी अपहरणशैलीमा गाडीमा राखेर कुटपिट गरेका थिए । तर, प्रहरीसँगको सेटिङका कारण पीडित बिक्कीलाई नै उल्टो थुनामा राखिएको थियो । उजुरी दिन खोज्दा प्रहरी अधिकारीले उल्टो उनलाई फसाउने धम्की दिएर पछि छाडेका थिए ।
स्रोतका अनुसार नेपाली नागरिकसँग क्यासिनोमा छिरेर उनलाई बिक्कीलाई कुटपिट गरी गाडीमा राखेर त्यसरी अपहरण गरेका थिए । श्रीवास्तवको समूहसँग प्रहरी मिलेमतो रहेकाले यस्तो गम्भीर घटनालाई पनि प्रहरीले मिलापत्र गराएको थियो ।
विभिन्न किमिसका तस्करीदेखि जुवामा संलग्न रहँदै आएका श्रीवास्तवलाई एसपी श्यामकृष्ण अधिकारीले संरक्षण गरेको आरोप लागेको थियो ।