काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झाले थुनामुक्तीको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन गत सोमबार सर्वोच्चबाट खारेजीको फैसला भएसँगै अरु विचौलियालाई पनि झस्को पसेको छ ।

झा पक्राउ परेपछि आरजु राणा देउवा पनि पक्राउ पर्ने डरले सत्ता गठबन्धन नै फेरिएको थियो । झा र आरजुबीच यस प्रकरणमा भित्री साँठगाँठ छ । झाले आरजुलाई रकम दिएको विषयमा अन्य अभियुक्तहरुले प्रहरीमा बयान दिएका छन् ।
त्यही काण्डमा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको संयुक्त इजलासले रिट खारेज हुने फैसला गरेपछि अब झाले जिल्ला अदालतको अन्तिम ठहर कुर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
भुटानी काण्डमा पैसाको चलखेल गर्न विचौलियाको भूमिकामा रहेको आरोप लागेका झाले गत माघ २ गते सर्वोच्चमा वन्दीप्रत्यक्षीकरण रिट दिएका थिए । झासमेतको मिलेमतोमा नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाएर अमेरिका पठाउनेक्रममा २८ करोड ८१ लाख ७४ हजार पाँच सय रूपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा जिल्ला मुद्दा दर्ता भएको मुद्दा विचाराधीन छ । उनी गत बर्षको असार १३ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन गत भदौ २ गते आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निवेदनमा पनि मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो ।
जिल्ला र उच्चले पुर्पक्षका लागि थुनामा पठाउने गरी भएको आदेशविरुद्ध झा पुनः निवेदन लिएर सर्वोच्च पुगेका थिए । त्यो निवेदन पनि खारेज भएपछि अन्तिम विकल्पका रुपमा वन्दीप्रत्यक्षकरण रिट दिएका हुन् । झा भन्दा अगाडी पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ काका छोरा प्रतिक थापा, पूर्व गृहसचिव टेकनारायण पाण्डेसहितका ८ प्रतिवादीहरु हाल पुर्पक्षका लागि थुनामै छन् ।
झा पक्राउपछि भुटानी शरणार्थी प्रकरणमा राजनीतिक संलग्नता खुल्ने अपेक्षा गरिए पनि ओली नेतृत्वको सरकार गठन भएपछि प्रहरी प्रमुखहरुको सरुवाले ‘डिसमिस’ पारिएको थियो । वन्दीप्रत्यक्षीकरण रिट खारेजीको अन्तिम ठहरसहितकोपूर्ण फैसला आउँदा ‘न्यायिक टिप्पणी’ आउनसक्ने आसा भने जिवितै छ । झाको माथिल्लो तहका शक्तिशाली नेताहरुसँगको ‘कनेक्सन’ रहेको तथ्यलाई पक्राउका क्रममा भारतीय प्रहरीको असहयोगले नै आशंका बढाएको थियो ।
रवि लामिछाने गृहमन्त्री बनेका बेला झा समातिएका थिए । जसरी समातिए पनि उनी समातिनु प्रहरी संगठन र देशकै हितका लागि ठूलो सफलता थियो । सरकार फेरिएपछि बेचन पक्राउको विषयमा प्रहरी संगठनमा समेत भाँडभैलो मच्चिएको थियो । झा पक्राउ पर्नेबेला प्रहरीका आईजीपी कुँबर नेपाल थिएनन् । इन्टरपोलको कार्यक्रममा भाग लिन अमेरिकामा थिए । कुँबर नभएको बेला आईजीपीको भूमिकामा उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजी दिपक थापा थिए । त्यही बेला झा समातिएका हुन् । झा पक्राउ परेको दुई दिनमै सत्ता समीकरणमै उलटफेर भएको थियो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले सरकार ढल्नुको मुख्य कारण बेचन झा पक्राऊ पर्नु नै रहेको दाबी गर्दै आएका छन् । झा पक्राउ पर्दा एमाले–काँग्रेसका माथिल्लो तहका नेताहरुमाथि अनुसन्धान सोझिने डरले सत्ता समीकरण गरिएको चर्चा अझै सेलाएको छैन ।
झा पक्राउपछि सत्ताको उलटफेरले तत्काललाई सत्ताधारी माथिल्लो तहका नेता जोगिए पनि पछिल्लो रिट खारेजीको फैसलाले नक्कली भुटानी प्रकरणको वन्द फाइल खुल्ने संभावना भने जिवितै देखिएको छ । सत्ता स्वार्थका लागि अनुसन्धानलाई प्रभावित पार्ने आइजिपी बसन्त कुँवरसमेत फेरिएको अवस्थामा वन्द फाइल उधिन्दा भुटानी काण्डमा अपराधका नयाँनयाँ ‘क्लू’ भेटिने संभावना छ । यतिमात्र नभै सर्वोच्चले वन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएपछि जिल्ला अदालतलाई स्वतन्त्र र निश्पक्ष ढंगले फैसला गर्नसमेत ढुक्क भएको अवस्था छ ।