Logo
Logo
समाचार टिप्पणी

अब राजनीतिमा आउलान् कुलमान ? 


14.6k
Shares

काठमाडौं । चार वर्षअघि अर्थात्  २०७७ मा एक अन्तर्वार्तामा कुलमान घिसिङले भनेका थिए– ‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ ।’ 

चार वर्षअघि नै यसरी राजनीतिमा आउने सङ्केत दिएका कुलमानको लागि अहिले परिस्थिति अनुकूल बनेको छ । २६ वर्षसम्म विद्युत् प्राधिकरणमा जागिरे जीवन बिताएपछि उनी दुई पटक कार्यकारी निर्देशक भएर काम गर्ने अवसर पाए । 

पछिल्लो पटकको चार वर्ष कार्यकाल आउँदो साउनमा सकिँदै थियो । तर त्यसअघि सरकारले उनलाई पदबाट हटाएको छ । र,  उनको ठाउँमा  हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर ‘नायक’ बनेका कुलमान केपी शर्मा ओली नेतृत्वको सरकारका लागि ‘अप्ठेरो पात्र’ बनिरहेका थिए । गत असारमा संसद्का दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै कुलमानलाई हटाउन सरकारले लागिपरेको थियो । 

सरकारले कुलमानलाई जबरजस्ती हटाएपछि उनी राजनीतिमा प्रवेश गर्न सक्ने कतिपय व्यक्तिहरूले दाबी गर्न थालेका छन् । अब कुलमान राजनीतिमा आउने धेरैको बुझाइ छ । केहीले त केही समयअघि देखि नै उनलाई राजनीतिमा आउन सुझाव दिँदै आएका थिए । 

सरकारलाई कुलमानले हटाउने चर्चा सुरु हुँदै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पनि कुलमानलाई आगामी निर्वाचन चुनाव लड्न सुझाव दिएका थिए । 

उनले सामाजिक सञ्जालमा लेखेका थिए– ‘कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले माइनस ९९ दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पङ्गु बनाउँछन् । अनि आफूलाई दुःख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने सङ्घीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।’

कुलमानले राजनीति गरे नेकपा माओवादी केन्द्रबाट गर्ने धेरैको विश्लेषण छ । माओवादीले पनि उनलाई आफ्नै मान्छेझैँ च्यापेर राखेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार कुलमानको बचाउ गर्दै आएका थिए । माओवादीका अन्य नेताहरूले पनि कुलमानको बचाउ गर्दै आएका थिए । 

विद्युत् प्राधिकरणको प्रमुख भएपछि कुलमानले जुन ‘सुपरम्यान’ शैलीमा लोडसेडिङ हटाए, त्यसले उनलाई जनताको नजरमा नायक बनायो । त्यसबेला उनलाई प्रचण्ड नेतृत्वकै सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए ।

दोस्रो पटक पनि प्रचण्डकै जोडबलमा ओली नेतृत्वको सरकार कार्यकारी निर्देशक बनाएका हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई प्राधिकरणको जिम्मा दिइएको थियो । त्यसपछि हितेन्द्रदेव सर्वोच्च अदालत पुगेका थिए, उनी अनिवार्य अवकाशमा गएपनि उनको मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको छ । यद्यपि सरकारले उनलाई दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरिसकेको छ । 

लोडसेडिङ हटाउनु कुलमानको ठूलो उपलब्धि मानिन्छ । माओवादी नेताहरूले बारम्बार यो सफलतालाई आफ्नो पार्टीको योगदानको रूपमा व्याख्या गर्दै आएका छन् । 

अर्को रूपमा हेर्ने हो भने माओवादीले कुलमानलाई समर्थन गर्नुको प्रमुख कारण उनको लोकप्रियता हो । एक पटक लोकप्रिय बनिसकेपछि नेताहरूले उनलाई ‘राजनीतिक गोटी’ बनाउन खोज्नु अस्वाभाविक होइन । 

हुन त घिसिङको क्रियाकलापले पनि माओवादी निकट देखाउँछ नै । यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा कुलमान माओवादीको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिन खोजेको कुरा कतै लुकेको छैन ।

२०७९ को आमनिर्वाचनमा माओवाद केन्द्रले उनको पोस्टर नै बनाएर चुनावी प्रचार गरेको थियो । त्यसको विरोध भएपछि माओवादीले त्यसलाई हटाएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि काठमाडौं महानगरका मेयर बालेन शाहभन्दा पनि लोकप्रिय मान्छे माओवादीसँग भएको भन्दै कुलमानलाई संकेत गरेका थिए । 

कुलमानलाई माओवादीले किन राजनीतिक औजार बनाइरहेको छ ? उनी राजनीतिमा आउने चर्चा किन भइरहेको छ ? कुलमान राजनीतिमा आउन लागेकै हुन् ? यी प्रश्नको उत्तर अब चाँडै पाइने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्