Logo
Logo

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : जोशी र शाहीलाई थुनामा पठाउने आदेश


5k
Shares

काठमाडौं । अदालतले सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरणमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सोमबार कास्की जिल्ला अदालतले महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।

इन्स्पेक्टर महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको परिवारले बताएको थियो । महतको विवाह उनले रोजेकै केटासँग गरिदिन परिवारमा सल्लाहसमेत थियो । तर, उनी एकाएक आफू कार्यरत रहेको ठाउँमै मृत अवस्थामा भेटिएकी थिइन् ।

आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न हुनेलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था छ । न्यायाधीश भोलानाथ ढकालको इजलाशले गरेको आदेशमा दुबै जना आत्महत्या गर्न दुरुत्साहन दिने कार्यक्रम संलग्न छैनन् भन्ने पुष्टि हुन नसकेकाले उनीहरुलाई पुर्पक्षका लागि पठाउँदा प्रहरी संगठनमा पनि सकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्