
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलहरुकै नेताहरुले कुलमान हटाउने निर्णयविरुद्ध सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।
सोमबार साँझ मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्नासाथ कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध जनाएका थिए ।
त्यस्तै आज बिहानै कांग्रेसकै नेता डा शेखर कोइरालाले पनि यस विषयमा आपत्ति जनाएका छन् । उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् ।
‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि,’ उनले भनेका छन् ।