Logo
Logo

रेभुलेसनको ‘फिस्टे-तोप’ र राजतन्त्रविरोधी ‘स्याल-हुइयाँ’


2.7k
Shares

रवि लामिछानेले केही दिन पहिले बोल्ने समय आएको छैन भन्दाभन्दै पनि एउटा गम्भीर कुरा बोले, ‘गेट रेडी फर द रेभुलेसन’ । उनले ‘तपाईँ राजावादी कि गणतन्त्रवादी ?’ भनेर कित्ता छुट्टाउन आग्रह गर्दा दिएको ‘सिग्नेचर जवाफ’ थियो यो । उनले त्यसो भन्नु ठीक अगाडि यसो पनि भने, ‘समय आउँदै छ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु ।‘

त्यसको केही दिन अगाडि पत्रकार विजयकुमार पाण्डेले आफ्नो पोडकास्ट दिशानिर्देश प्रिमियमको ‘के राजा फर्कन्छन् ? भन्ने अंकमा भनेका थिए, ‘नेपालमा राजतन्त्र फर्कने टाढाको सम्भावनालाई कुनै कुराले निर्धारण गर्छ भने हालसम्म देखिएका राजावादीहरूको समूहमा नयाँ समूहहरू पनि थपिए भने वा राजालाई हटाउने पुरानाहरू फुटे भने नेपालमा अकल्पनीय ध्रुवीकरणको सुरुवात चाहिँ हुन सक्छ ।‘

यी विजयकुमार तिनै राजनीतिक पण्डित हुन् जो रवि लामिछानेको ‘ग्यालेक्सी टेलिभिजन’ को एक प्रस्तोता हुने ठूलो घोषणा भएको थियो । उनको त्यो घोषणाले आकार नलिँदै रविले ग्यालेक्सी छोडे । अब त ग्यालेक्सीको पाना पनि सहकारी ठगीको एक महाभारतका रूपमा बन्द भइसक्यो । यद्यपि, विजयकुमार र रविको उठबस सकिएको छैन ।

२०६२÷६३ सालको जनआन्दोलनका बेला रविको हातमा अमेरिकी ग्रिनकार्ड मात्र थियो । बाल्टिमोरमा एक सब–वेमा काम गरिरहेका उनी त्यतिबेला अमेरिकी नागरिक भैसकेका थिएनन् । त्यसको कागजी प्रपञ्च मिलाउने प्रक्रियामा थिए । त्यतिबेला उनको भूमिकालाई नजिकबाट हेरेका मेरा प्रिय साथी शैलेश श्रेष्ठ लेख्छन्, ‘ हाम्रा मित्र रवि लामिछाने अमेरिका रहुन्जेल राजावादी कित्तामै हुनुहुन्थ्यो । हामीले मकरतन्त्रको विरोधमा राष्ट्रसंघको कार्यालय र वासिंगटन डीसीमा ज्ञानेन्द्र शाहको कदम विरुद्धमा विरोध ¥यालीहरू ग¥यौं । रविजी भने प्रतिकारवाला राजावादीहरूको जत्था बाल्टिमोर कोटरी’ का निकटस्थ हुनुहुन्थ्यो ।’

प्रकारान्तरमा मेरो साथी शैलेश अमेरिका छोडेर क्यानाडा गए । रवि नेपाल फर्के । म त्यो आन्दोलनको एक अक्षरकर्मी चाहिँ यतिबेला अमेरिकामा छु । कुनै बेला हामी तीनैजना नेपालमा सञ्चारकर्ममै थियौ । धेरथोर एकअर्काका वाह्य मात्र हैन, आन्तरिक कुरा पनि जान्दछौं ।

रवि नेपाल आएर राजावादी राप्रपा नेता उद्दव पौड्यालका ज्वाइँ भए । पञ्यातकालमै उद्धव पौड़ेलका लागि निर्मल निबासको ढोका सँधै खुल्ला हुन्थ्यो । यो सत्य धेरैलाई थाहा नभए पनि यो अक्षरकर्मी त्यति जान्ने हैसियत राख्छ ।

रविलाई शालिग्राम काण्डदेखि काँधमा बोक्ने कालाकोटे सुशील पन्त राजावादी प्रकाशचन्द्र लोहनीका भान्जा हुन् । राजाको समयमा महान्यायाधिवक्ता रहेका सुशील पनि रविलाई ज्ञानेन्द्रपथको रेखामा जोड्ने अर्को कडी हुन सक्छन् ।

अंग्रेजीमा डट जोडेर अनुमान वा निष्कर्षमा पुग्ने एक प्रचलित तरिका छ । तर, नेपालीमा विन्दु जोडेर रेखा बनाउने कुरा प्रचलनमै छैन भने पनि हुन्छ । शायद विन्दु जोडेर रेखा बनाउने भन्दा त्यति प्रस्ट पनि हुँदैन होला । जे होस्, यसपटक प्रयोग गरौँ, त्यसको प्रयोग आफैमा अर्थपूर्ण पनि हुनसक्छ ।

माथि केही विन्दुहरू थिए, जस्तो कि रविको घोषणा, ‘गेट रेडी फर द रेभुलेसन’ । विजयकुमारको राजावादी समूहहरूमा थपिने सम्भावित नयाँ समूहको आकलन । शैलेश श्रेष्ठले उद्घाटन गरेको रविको मकरतन्त्रसँगको पुरानो नाता । रविको पछिल्लो श्रीममतीमार्फत् गाँसिएको उद्दव पौडेल साइनो । अनि, रविलाई अभयदान गराउँदै आएका सुशील पन्तको लहरो । यी सबैलाई विन्दु मानेर जोड्ने हो भने जुन रेखा बन्छ, त्यो रेखा ज्ञानेन्द्रपथ नै हो ।

यसको पछाडि अरू पनि केही विन्दुहरू जोडिन सक्छन् । जस्तो कि, रविलाई अहिलेको हालतमा पुर्याउने पुराना राजनीतिक दलहरू नै हुन् भन्ने लागेको छ र यो हो पनि । मकरतन्त्रका ‘नायक’ ज्ञानेन्द्रलाई कुम्लोकुटुरो कसाएर नागार्जुनमा पाइतो सार्ने ती दलहरू स्वभावतः राजतन्त्रविरोधी कित्तामा छन् । रविले बदला लिनुपर्ने उनीहरूसँगै हो ।

त्यसका लागि उनले शक्ति सञ्चय गर्नुपर्ने हुन्छ, त्यो शक्ति भनेको पूर्वराजा ज्ञानेन्द्र हुन सक्छन् । ज्ञानेन्द्रलाई पनि थाहा छ कि उनी राप्रपा नामको पूर्वपञ्चमहरूको पुच्छर समातेर राजतन्त्रको वैतरणी तर्न सक्दैनन् । उनलाई थारो हुन लागेको बकेर्नो गाईभन्दा लैनो गाई नै चाहिन्छ । २०७९ सालमा मात्र बियाएको कोरेली रास्वपा तुलनात्मक रूपमा लैनौ छ ।

चाणक्य नीतिले भन्छ, शत्रको शत्रु मित्र हुन्छ । यहाँ ज्ञानेन्द्रका शत्रु पुराना दलहरू हुन् जसले उनको उठिबास लगाए । अनि नया रविका पनि पुराना दलहरू नै शत्र हुन् जो उनलाई नेपालको लालु बनाउने अभियानमा छन् । पुराना दलहरूका शत्रु चाहिँ रवि र ज्ञानेन्द्र दुवै हुन् । यस्तो अवस्थामा रविका लागि पनि ज्ञानेन्द्र उनको राजनीति बचाउने अन्तिम हतियार हुन सक्छन् ।

सुरुमा उल्लेख गरिएका विन्दुहरूसँग यो नयाँ विन्दुलाई जोडेर रेखा तान्ने हो भने त्यसले रविको राजनीतिक रेखा ज्ञानेन्द्रपथतिरै तेर्सिन्छ । अझ त्यसमा पनि उनले ‘रेभुलेसन’ शब्द प्रयोग गरेका छन् । त्यसका लागि तयार रहन आव्हान गरेका छन् । ‘रेभुलेसन’ आफैँमा ज्यादै भारी शब्द हो र यसलाई नेपालीमा अनुवाद गर्दा पनि क्रान्ति हुन्छ । क्रान्ति पनि स्वयंमा ज्यादै गह्रुङ्गो छ ।

रविले मुभमेन्ट अर्थात् आन्दोलनका लागि तयार रहन भनेका छैनन् । उनले प्रस्ट शब्दमा अंग्रेजीमै भनेका छन् रेभुलेसन । अझ, यो शब्द मात्र छैन; वाक्य नै छ, ‘गेट रेडी फर द रेभुलेसन ।‘ लामो समय गुप्तबासमा रहेर बोल्ने समय आएको छैन भन्दाभन्दै पनि उनले छानेको रेभुलेसन शब्द त्यत्तिकै फुत्त निस्केको शब्द हो भन्न सकिन्न ।

रविले त्यति नै बेला ‘म आवेग, उत्तेजनामा छैन’ भन्ने स्पष्टीकरण दिँदै यो पनि भन्न भ्याएका छन् कि ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदै छ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’

रास्वपा विभाजनको खतरा
रास्वपा मूलतः नेपालका पुराना दलहरूमा ठाउँ नपाएर भेला भएका युवाहरूको प्लेटकर्म हो । अझ भन्ने हो भने यो अति महत्वाकांक्षी र अति स्वार्थीहरूको झुन्ड नै हो । यसो भन्दा अलि बढी नै हुन्छ होला तै पनि यसका सुप्रिपो रविको विगतलाई हेर्दा र उनको देवत्करण गरेर पछ्याइरहेका नेता–कार्यकर्ताको गतिविधिलाई हेर्दा यति भन्न कुनै आइतबार पर्खनु पर्छ जस्तो लाग्दैन ।

रविको राजनीतिक रेखा ज्ञानेन्द्रपथ नै भए पनि उनी सजिलै मुख खोलेर भन्न सक्ने आँट जुटाइरहेका छैनन् । उनलाई थाहा छ, यो घोषणाले उनलाई पश्चगामी कित्तामा त उभ्याउँछ नै उनको दल पनि सग्लो रहन सक्दैन । रास्वपाको एउटा ठूलो पङ्क्ति अराजनीतिक र रविको पिछलग्गु भए पनि एउटा ठूलो जत्था लोकतन्त्र तथा गणतन्त्रको लडाइँमा केही योगदान भएको र राजनीतिक रूपमै प्रशिक्षित पनि छ । पुरानाहरू दल र नेताहरूप्रति उनीहरूको रिस र पूर्वाग्रह हुन सक्छ तर जब राजतन्त्र कि गणतन्त्रमध्ये एउटा कित्तामा उभिनुपर्ने हुन्छ, त्यतिबेला भने त्यो पङ्क्ति रविको ज्ञानेन्द्रपथतिर लाग्ला भन्न सकिन्न ।

निश्चित छ, यस्तो अवस्थामा रास्वपा विभाजित हुन्छ र सम्भवतः रविको राजावादी चोइटोभन्दा पनि उनको विपक्षमा उभिने गणतन्त्रवादी चोइटो ठूलो हुन सक्छ । रविलाई त्यस्तो हुने कुराको पुरापुर ज्ञान छ । तर, उनी आफ्नो चोइटो ठूलो बनाएर त्यो नोक्सानलाई कसरी भर्पाई गर्न सकिन्छ भन्ने जुक्तिको खोजीमा छन् । सम्भवतः अहिले उनी आफ्नो सहकारी गुप्तबास त्यसैको जोडजाम गर्न प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय राप्रपामा भएको ज्ञानेन्द्रपन्थी युवा दस्ता र रविका बिचमा गतिलै उठबस भएको भन्नेहरू पनि भेटिन्छन् । यो अभियानमा राप्रपाका रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, रेखा थापाहरू लागेको बताइन्छ । यसको कुनै स्वतन्त्र रूपमा पुष्टि भएको छैन र तत्कालै हुनेवाला पनि छैन । यस्तो परल अवस्थामा यसो भन्नु एक किसिमको षडयन्त्रको सिद्धान्त मात्र पनि हुन सक्छ । तर, यो त्यतिमा मात्र सिमीत छैन । यसका पछाडि केही थप बस्तुगत आधारहरू पनि छन् ।

रविको गर्दनमाथि दुई ‘स्याँगी’
रविले ज्ञानेन्द्रपथको लाइनमा उभिने त्यति सजिलै गर्न नसक्नुको पछाडि रास्वपाको विभाजनको सम्भावित डर मात्र कारण छैन, अर्को पनि आधारभूत कारण छ । त्यो के भने रविको गर्दनमाथि रहेका दुई स्याँगी । उनको गर्दनमाथि सहकारी ठगीको क्रममा लगाइएको संगठित अपराधलको स्याँगी मात्र छैन, मुल्तबीमा रहेको दोहोरो राहदानीको अर्को धारिलो स्याँगी पनि छ । यी दुई स्याँगी खसेर कुनै पनि बेला उनको राजनीतिक जीवनको गर्दन छिनाली दिन सक्छन् ।

जब रविले ज्ञानेन्द्र कित्ता छान्छन्, त्यो वार कि पारको अवस्थामा गणतन्त्रवादी सत्ताले त्यो हतियार नचलाउला भन्न सकिन्न । रविलाई यसको पुरापुर डर मात्रै छैन, आभास पनि छ । त्यसैले नै रवि यतिबेला मौन रहेर गुप्तबासमा गएका हुन् । उनी कुनै रहर वा चाहनाले मुखमा बुजो लगाएर बसेका हैनन् ।

प्रतिकारको स्याल–हुइयाँ
गाउँमा एउटा स्याल रोयो भने अर्को पनि रून्छ । त्यसलाई स्याल हुइयाँ भनिन्छ । तीनवटा स्याल रोएर बन्ने स्याल हुइयाँ भने राम्रो नमान्ने चलन छ । अहिले नेपालमा पनि गणतन्त्रका तीन स्यालहरू– ओली, देउवा र प्रचण्ड स्याल हुइयाँमा सामेल छन् । उनीहरू एकोहोरो पूर्वराजाविरूद्ध बरबराइरहेका छन् ।

यो स्याल हुइयाँ जति गर्दा दक्षिणका इष्ट देउता खुसी नभएपछि ओलीले सुरु गरेको हो । पूर्वराजा ज्ञानेन्द्रको दुक्कीचाल दक्षिणकै लामो हातले चलाएको आशंका र जानकारी ओलीलाई हुन सक्छ । त्यसैले उनले हुइयाँ सुरु गरे । उनी कराएपछि गणतन्त्रका अरू दुई स्याल पनि कराउन थाले ।

ओली, देउवा र प्रचण्डलाई गणतन्त्रका स्याल भन्दा कसैलाई पीडा हुन सक्छ र यो गणतन्त्र विरोधी कुरा पनि लाग्न सक्छ । लागे पनि लागोस् । कुनै बेला गणतन्त्रका सिंह थिए उनीहरू, अहिले आफैँले नागार्जुनमा बास दिएको ज्ञानेन्द्रसँग तर्सेर जसरी बरबराइरहेका छन्, त्यस आधारमा उनको यो बरबराहट स्यालको हुइयाँ भन्दा खासै फरक छैन ।

के गणतन्त्रवादीहरू पूर्वराजासँग यति धेरै डराउनुपर्ने स्थिति नै आएको हो त ? तीनचुले गणतन्त्र–सत्ताका तीन चुला एमाले, कांग्रेस र माओवादी अनि ती दलका मुखियाहरू स्याल हुइयाँ गर्नैपर्ने अवस्था हो त ? यो स्तम्भकार त्यस्तो ठान्दैन । तर, पनि उनीहरू निरन्तर हुइयाँ गरिरहेका छन् । अझ, त्यति मात्र हैन, पञ्चायती शैलीको प्रतिकार आन्दोलनको घोषणा नै गरिरहेका छन् ।यो भने आफैँमा राम्रो संकेत हैन ।

रविलाई हाइसन्चो
सरकार मात्र हैन, सारा गणतन्त्रवादीहरू नै यतिबेला राजतन्त्रविरूद्ध हुइयाँमा लागेकाले रविविरूद्धको मुद्दा, सहकारी आन्दोलनलगायतका सारा जल्दाबल्दा विषयहरू ओझेलमा परेका छन् । सरकारले रविविरूद्धको पाँचौँ मुद्दा दायर नै गर्न सकिरहेको छैन भने अरू चारवटा मुद्दाको पुनरावेदनमा जान पनि खुट्टा कमाइरहेको छ । बरु उल्टै रवि काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध पुनरावेदनमा गएका छन् ।

रविले ‘गेट रेडी फर द रेभुलेसन’ पनि स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन गर्न गएको बेला दिएको प्रतिक्रियाको एक अंश हो ।

धेरैलाई लागेको हुन सक्छ, रवि नेपाली राजनीतिका एक एक्का हुन् । तर, होइन । उनी त नेपाली राजनीतिकै सबैभन्दा नाजुक पात्र हुन् । अमेरिकी नागरिकता लुकाएर नेपालमा गरेको गैरकानूनी कामबाट जोगिन भाग्दैभाग्दै उनी राजनीतिमा आइपुगेका हुन् । उनको यही विवादास्पद विगत उनको सबैभन्दा कमजोर पक्ष हो । यति ठूलो कमजोरी बोकेर ‘रेभुलेसन’को धम्की दिनु आफैँमा एक फिस्टे चुनौति हो । सिंहहरू आफ्नै कुकर्मले स्याल भएपछि फिस्टोले पनि तोप पड्काउने धम्की दिन्छन् । रविको रेभुलेसन पनि त्यही फिस्टे तोप हो ।

प्रतिक्रिया दिनुहोस्