काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो ।

मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन् । अबदेखि राजधानी केन्द्रित राजसंस्था पुर्नःस्थापना सम्बन्धी हरेक आन्दोलन र प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पूर्ण समर्थन र सहकार्य रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन ।’