
गत शनिबार बिहान फेसबुकमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेको फोटो पोस्ट गरेको देखेर झल्याँस्स भएँ । विश्वास लागेन र पत्रकार मित्र कविर राणालाई फोन गरेँ । उनले उक्त खबरको पुष्टि गर्दै पशुपति क्षेत्रको प्राङ्गणमा ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि बस्नेतको पार्थिव शरीर राख्ने जानकारी दिए । तै पनि मनले मानेन र अन्य साथीहरूलाई फोन गरेँ, सबैले हो भने । माथवरको निधनको खबरले मर्माहत बने । मन भारी भयो, पशुपति जान हतारिए ।
माथवर खरो स्वभावका थिए, हरेक विषयको ज्ञान धेरथोर उनमा थियो । त्यसैले कहिलेकाहीँ केही कुरा बुझ्न प¥यो भने मैले उनीलाई नै फोन गर्ने गर्थे । आफूलाई थाहा भएको कुरा उनले फ्याट्टै भन्थे । उमेरले ७६ लागे पनि उनमा युवा जोश, जाँगर थियो । सामान्य रुघाखोकी, ज्वरोबाहेक उनमा त्यस्तो कुनै दीर्घरोग पनि थिएन ।
चुरोट रक्सी छाडेको १५÷२० वर्ष भइसकेको थियो । त्यसैले अनुहारमा जहिले पनि चमक देखिन्थ्यो । जहिले भेटे पनि फुर्तिलो स्वभावका उनीसँग मेरो बेलाबखत भेट भइरहन्थ्यो । नाङ्लोको दालभात, खसीको मासु उनलाई खुबै मन पथ्र्यो । नाङ्लोमै पत्रकारिता र राजनीतिका बारेमा धेरैपटक कुराकानी भएको थियो । जहिले भेटे पनि १२ बुँदे दिल्ली सम्झौताप्रति उनी आक्रोश पोख्थे ।
त्यही सिलसिलामा एकपटक मैले उनलाई दृष्टिमा स्तम्भ लेख्न आग्रह गरेको थिएँ । मेरो आग्रहलाई हार्न नसकेर उनले हुन्छ भने । के विषयमा लेख्ने भन्ने प्रसंग चल्यो । उनले भने– ‘हेर्नुस् कम्युनिस्टहरू कहिले पनि प्रजातन्त्रवादी हुन सक्दैन भन्ने विश्वासले म आजीवन प्रजातन्त्रवादी भएँ । जेलनेल, सर्वस्व हरणदेखि धेरै दुःखकष्ट भोगे । जीवनभर कम्युनिष्टसँग जुध्दै आए । किनभने, कम्युनिष्ट भनेको अधिनायकवादी हुन्छन् । उनीहरुले बन्दुकको नाललाई विश्वास गर्छन्, जनताको मतलाई होइन । तर हेर्दाहेर्दै यस्तो समय पनि आयो, म भन्दा पनि बढी प्रजातन्त्रवादी नेपालका कम्युनिस्टहरू भए । त्यसैले मैले पुनर्जागरण पनि बन्द गरेँ ।’
वास्तवमा, माथवरसिंहको यो भनाइभित्र नेपाली राजनीतिको गहिरो अर्थ छ । उनी भन्थे– ‘प्रजातन्त्रका शत्रु कम्युनिष्टहरुलाई प्रजातन्त्रमा रूपान्तरण गरेर गणेशमानजीले विश्वलाई नयाँ शिक्षा दिनुभयो । त्यसका विपरीत गिरिजाबाबुले नयाँ दिल्लीमा १२ बुँदे सहमति गरेर देशको स्वाधीनता नयाँ दिल्लीलाई बुझाउनुभयो ।’
पछिल्लो समय उनी राजनीतिदेखि बिरक्तिएर गणेशमान सिंहको संस्मरण लेखनमा व्यस्त भए । प्रायः भक्तपुरतिरै बस्ने भएकोले त्यति भेट पनि हुन सकेन । तै पनि बेलाबखत फोन हुन्थ्यो । म प्रोस्टेडको उपचार गरेर हालै नयाँ दिल्लीबाट फर्किएपछि गत बिहीबार बिहान उनको सम्झना आयो । अफिस पुगेर फोन गरौँला भन्ठानेको थिए, बिर्सिएछ ।
अचानक शनिबार उनको निधनको खबर आयो । उनी त्यही बिहीबार मस्तिष्कघात भएर अस्पताल भर्ना भएछन् । त्यो कुरा थाहै भएन । नत्र अस्पतालमै पुग्थे ।
विद्रोही स्वभावका माथवरले राजनीति, पत्रकारिताको माध्यमबाट देशलाई ठूलो गुन लगाएका छन् । तर, सुरुदेखि नै गिरिजाप्रसाद कोइरालाका विरोधी भएका कारण पार्टीभित्र उनको उचित मूल्यांकन भएन । नेपाली कांग्रेस बिपीको बाटोमा हिँडोस् भन्ने उनको चाहना थियो । तर, नेपाली कांग्रेसले बाटो बिराइसकेकोले त्यस पार्टीप्रति पनि उनको त्यति रुचि थियो जस्तो लाग्दैन ।
माथवरसँग सम्झनाका धेरै क्षणहरू छन् । सादा जीवन उच्च विचारबाट म प्रभावित पनि भएको छु । जस्तोसुकै अभावमा पनि विचलित नहुने स्वभावका उनले मलाई बारम्बार जीवनलाई सहज र सरल बनाउन आवश्यकतालाई कम गर्ने सुझाव दिन्थे । उनमा पद प्रतिष्ठा, धन सम्पत्तिप्रतिको मोह पनि देखिन ।
त्यस्ता योद्धाको अवसानले देशले अपूरणीय क्षति व्यहोरेको छ । जन्मन त पत्रकारिता क्षेत्रमा धेरै जन्मे होलान्, जन्मेलान् तर माथवरजस्तो अविचलित संघर्षशील योद्धा कमै जन्मिन्छन् ।
अलबिदा माथवर ।