काठमाडौं । सरकार र सत्ताधारी दलहरू दलाल, बिचौलियाको सेटिङमा चल्दा मुलुक अनिश्चयको भुमरीमा फस्दै गएको छ । सरकारको प्राथमिकता आम जनताका समस्या समाधानमा हुनुपर्ने हो । विडम्बना आम जनतालाई समस्यामा पार्ने गरी समिति दलाल, बिचौलियाको सेवामा सरकार हाजिर छ ।

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै भ्रष्टाचारमा मुछिएका छन् । बिचौलियाको एजेन्टको रुपमा काम गर्ने उर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, खेलकुदमन्त्री तेजुलाल चौधरीजस्ता बदनाम मन्त्रीलाई संरक्षण गरिरहेका छन् ।
सरकारी रवैया र गतिविधिका कारण निराश र आक्रोशित भएका जनतालाई प्रतिगामीहरूले हतियारको रुपमा प्रयोग गर्न खोज्दै छन् । अझै पनि दलहरू नसच्चिने हो भने उनीहरूको पतन कसैले पनि रोक्न सक्दैन । अहिलेका दलहरू मात्रै होइन, व्यवस्था नै उल्टिने अवस्था आउन सक्छ । जनतामा आशा जगाउन मुलुकका विद्यमान विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्नुको विकल्प छैन ।
जनताको निराशा र आक्रोशलाई व्यवस्था बदल्ने हतियारको रुपमा प्रतिगामीले प्रयोग गर्न खोजिरहँदा गणतन्त्रवादी दलहरू पनि सडक आन्दोलनको तयारीमा छन् । लोकतन्त्रमा दलहरूले विभिन्न गतिविधि गर्छन । प्रतिपक्ष दलले सरकारलाई दबाब दिन अभियान चलाउने, सडकमा प्रदर्शन गर्ने काम स्वाभाविक पनि हो ।
यस्ता कार्यक्रम राजनीतिक दल र जनतालाई जोड्ने काम गर्छ । तर, व्यवस्था रक्षाका लागि भन्दै सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले समेत प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रीले सरकारबाट काम गरेर जनतालाई आश्वस्त पार्ने हो । सरकारमा रहेर बिचौलियाको पक्षमा काम गर्ने अनि व्यवस्था रक्षाका निम्ति भन्दै सडक प्रदर्शन घोषणा गर्नु सत्तारुढ एमालेको बेइमानी हो ।
सत्तामा रहेको दलले कुरा गरेर होइन, काम गरेर देखाउने हो । सरकारको रवैया र गतिविधिकै कारण जनतामा निराशा र आक्रोश बढेको र त्यसलाई प्रतिगामीहरूले हतियार बनाउन खोजेको तीतो सत्य एमालेले आत्मसात् गर्नुपर्छ ।
देश र जनताको हितमा सरकारलाई हिँडाउन सक्नुपर्छ । अन्यथा, प्रतिगामीको प्रतिकार गर्ने नीति सत्तारुढ एमालेकै लागि प्रत्युत्पादक बन्न पुग्छ । अहिले गणतन्त्रको चुनौती सैद्धान्तिक नभई व्यवहारिक हो ।
संविधानले प्रत्याभूत गरेका मौलिक हक प्रवद्र्धन, भ्रष्टाचार र बेथिति अन्त्य, रोजगारी सिर्जना, जनतालाई सेवा प्रवाह गर्न कसले छेकेको छ ? सत्ताधारी दलहरूको अक्षमताकै कारण अहिलेको स्थिति आएको हो । त्यसप्रति आत्मालोचना गर्नुपर्छ ।
गणतन्त्रमा दलहरूले प्रतिकारको भावना त्याग्नुपर्छ । जवाफदेहिता लिएर जनतामाझ जानुपर्छ । गणतन्त्रको सुन्दरता यही हो । प्रतिपक्षमा रहेको दलले खबरदारी गर्ने हो । सरकारमा रहेको दलले सुशासन दिने हो । राज्यका निकायले अपनाउने शैली र व्यवहार गणतन्त्रात्मक छन् त भन्ने समीक्षा नेताहरूले गर्नुपर्छ ।
जताततै विकृति, विसंगति र भ्रष्टाचारका कारण जनता आक्रोशित छन् । जनताको यो आक्रोश व्यवस्थाविरोधी नभई व्यवस्थालाई झन् बलियो बनाउनका निम्ति हो । गणतन्त्रवादीका लागि यो सच्चिने सुनौलो मौका हो । सच्चिने कि सक्किने नेताहरूकै हातमा छ । सत्ताको मातमा लागेर अझै नसुध्रिने हो भने भोलिका दिनमा सच्चिने ठाउँ पनि बाँकी रहने छैन । यही व्यवस्थाभित्रैबाट विकल्प खोज्न जनता सार्वभौम छन् ।
यदि, गणतन्त्र स्थापना भएपछि राजनीतिक दलले आर्थिक विकासको पाटोलाई गम्भीरताका साथ लिएको भए देशको अर्थतन्त्र धराशायी हुने बाटोमा जाने थिएन । अर्को महत्त्वपूर्ण कुरा सुशासन हो, नेताहरूले सुशासनलाई ओठेभक्ति बनाए । आफै ठुला ठुला काण्डमा मुछिए । जसले गर्दा भ्रष्टाचार मौलायो, व्यवस्थाकै बदनाम भयो । अहिलेको अवस्था निम्त्याउनुमा राजनीतिक दलका नेताहरू जिम्मेवार छन् । त्यसलाई आफैले सच्याउन सक्नुपर्छ । अन्यथा सकिन तयार हुनुपर्छ ।