काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी केपी शर्मा ओलीले कार्यकर्तालाई ‘बाघ’ बन्न सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आकलन नै नगरेको बताए । उनले देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिएझैँ झम्टन्छ । स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरूपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्सजस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’
यसअघि ओलीले युवासंघलाई नै ‘अरिंगाल’ बन्न निर्देशन दिएका थिए । २०७९ असोज ७ गते युवा संघकै कार्यक्रममा आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका थिए ।
ओलीले भनेका थिए– ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिं अरिङ्गाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङ्गाल भएर ध्वस्त पार्नैपर्छ । हो हामीमाथिको आक्रमणविरुद्ध अरिङ्गाल नै लगाउने हो ।’