काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ग्लोरिफाई गर्ने र हिंसाको बाजा बजाउने काम अझै भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिन सकिने र सक्नुपर्छ भन्दै सोही कारण ऐनहरू पारित गरिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले पनि हिंसालाई ग्लोरीफाई गर्ने, बाजा बजाउने कुरा किन भइरहेको छ ? द्वन्द्वमा हजारौँ अंगभंग र टुहुरा भए । त्यसमा मल्हम लगाउनुपर्नेमा किन ग्लोरिफाई गरिरहेका छौँ ? यसबाट मुक्त हुनुपर्छ ।’
उनले सशस्त्र द्वन्द्व गल्ती भएको बताए । ‘त्यो राष्ट्रिय गल्ती थियो । अब उप्रान्त त्यसो हुनुहुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘अलिकति रिस उठ्यो भने फेरि ? फेरि ? भन्ने होइन । बिसाएका हौँ छोडेका होइनौँ भन्ने होइन । मलाई त्यसमा डर छ विलम्ब पनि त्यसै कारण भएको होला ।’
उनले शान्ति प्रक्रियालाई इमानदारिताका साथ अघि बढाउन आफू तत्पर रहेको पनि बताए प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै भने, ‘उनले शान्ति प्रक्रिया र एकजना कर्मचारीको विषय जोडेर ठुला नेताहरूबाट अभिव्यक्ति आएको छ । हिजो पनि र अस्ति पनि सुने– शान्ति प्रक्रियाको सिफारिस समिति बनाउन भनेर बोलायो, एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालिदिएछन् यस्तो धोका भनेर ।’
प्रधानमन्त्री ओलीले भने, ‘यस्तो कुरा कहाँबाट जोडियो ? खेतमा पानी लगाउने र बाख्रो किनेको कुरा कहाँबाट जोडियो ? अर्कै अर्कै कुरा हो । त्यो पनि ठुलठुला नेताहरूबाट । यस्ता कुराहरूमा अल्झिन हुँदैन भन्छु म ।’
उनले नेपालको शान्ति प्रक्रिया सफल पार्न नेपालीले नै सुरु गरेको बताउँदै भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । पीडितले निर्भयपुर्ण र सम्मानपुर्वक न्याय पाउनुपर्दछ ।’