Logo
Logo

कस्तो जीवनलाई सफल मान्ने ?


1.8k
Shares

होसमा रहेका मानिस सबैले शायद आफुलाई बारम्बार सोधिरहन्छन्– “केका निम्ति बाँच्ने ?’’ पुरानो डायरी पल्टाउँदा देखेँ– १९९१ को जनवरीको एकदिन शाङ्घाईमै छँदा हामी बुढाबुढी फेरि त्यही विषयमा कुराकानी गर्दै रहेछौँ । हाम्रो जीवनको उद्देश्यलाई नै परिभाषित गर्ने हाम्रो विचार र भावना अनि कुनै बेला समाजवादको नमूना ठानेको चीनमा देखेको यथार्थबीच दूरी देख्न थालेका थियौँ र त्यो दूरीले दुखाउँथ्यो ।

त्यसबेलाको अर्थात् ८० को दशकको अनत्यतिर र नब्बेको दशकको शुरुवाततिर शाङ्घाईका चिनियाँहरुबीच असल मन भएका अरुको भलो चाहने मानिस धेरै भए पनि खोज्न मिहिनेत गर्नु पथ्र्यो ।

सामान्यतया बाहिर देखिने मानिसहरू भने अलि बढी नै आत्मकेन्द्रित र स्वार्थी देखिन्थे । पढेलेखेका चिनियाँहरुमा देश छाडेर अमेरिका, युरोप वा जापानतिर जान पाए हुन्थ्यो भन्ने ध्याउन्ना बढि देखिन्थ्यो । मेरै युनिभर्सिटीका प्राध्यापकहरू समेत कुनै अमेरिकी विद्यार्थीलाई समातेर कसरी अमेरिका पुग्न सकिएला भनेर कुरा गरिरहेका प्रत्यक्ष देखिरहन्थेँ ।

मिशेल नामकी एकजना अमेरिकी केटीले एकजना चिनिया युवकसँग नक्कली विवाह गरेकी थिइन्– ती चिनियाँलाई अमेरिकाको भिसा मिलाइदिनका निम्ति । अंग्रेजी सिक्न भनेर मैले पनि मिशेललाई साथी बनाएकी थिएँ । उनी सकेसम्म अरुलाई सहयोग गर्ने राम्रो मन भएकी केटी थिइन् । ती चिनियाँसँग उनको कुनै रोमान्टिक सम्बन्ध थिएन ।

जसरी पनि अमेरिका पुग्न खोजेका ती केटा खराब मानिस भने थिएनन् । त्यसैले मद्दत गर्न खोजेकी थिइन् । “अमेरिका पुगेपछि ऊ आफ्नो बाटो लाग्छ, म मेरै बाटो …’’ भन्थिन् । उनीहरु दुबैको अनुहार अहिले पनि सम्झिन्छु । तर अहिले मिशेलसँग कुनै सम्बन्ध छैन मेरो ।

अर्को एउटा गज्जबको कथा थियो आन्ड्रिया नामकी मेरै क्लासमेट जर्मन् केटीको । सुरुमा उनले आफ्नो कोठामा आफ्नो श्रीमानको भनेर एउटा फोटो राखेकी थिइन् र मिल्ने साथी भनेर मलाई देखाएकी थिइन् । “ऊ एकजना ज्यादै असल मान्छे हो’’ भनिरहन्थिन् । पछि त्यो फोटो कोठाबाट हरायो । देखिँदै देखिएन । एक वर्षपछि बल्ल मलाई भनिन् –“अब उसँग मेरो कुनै सम्बन्ध छैन । म एकजना चिनियाँ प्रोफेसरलाई मायाँ गर्न थालेकी छु । शायद उनैसँग विवाह गर्छु ।’’

म छक्क परेकी थिएँ । कति सजिलो यिनीहरुको सम्बन्ध छुट्न र अर्को सम्बन्ध जोडिन ! उनका ती पछिल्ला प्रेमी उनीभन्दा निक्कै पाका थिए । तर अविवाहित थिए कि ? त्यो मैले सोधिनँ ।

आन्ड्रिया सुन्दर थिइन् । उनको मन पनि सुन्दर थियो । कसरी त्यति छिटो उनले निर्णय गरिन् ? उनले आफ्नो नयाँ चिनियाँ प्रेमीको धेरै नै बयान गरेपछि केही कमेन्ट नगरी “मलाई पनि चिनाई देउ न तिम्रो प्रेमी’’ भनेँ । नभन्दै उनले तुरुन्तै मलाई चिनाउन लगिन् । उनी त ती चिनियाँ साथीको कोठामा सँगै बस्नै थालिसकेकी रहिछन् ।

सरोजको एकजना पुरानो मिल्ने साथी थिए– डा. छ्येन् कुइ–लिन् । राम्रो मनको मान्छे । उनै हुन् सरोजको अपरेशन भएको बेला ठुलो मद्दत गर्ने मान्छे । एकदिन उनले हामीसँग मनको कुरा खोले– “बाहिर जान मन लाग्यो, तिम्रै देशतिर भए’नि हुन्छ ।

डाक्टरलाई त जहाँ काम गरे पनि उस्तै हो नि होइन र ?’’ उनी त अझै अविवाहित थिए । र उनीप्रति हाम्रो पनि सद्भाव थियो । केही अविवाहित असल जापानी साथीहरुसँग मन मिल्छ कि भनेर मैले पनि चिनाई दिएँ । तर बिहे भन्ने कुरा धेरै नै व्यक्तिगत कुरा हो ।

जापानी साथीसँग उनको मेल खाएन । जापानी साथीको विचार पनि मेरै जस्तो थियो – भित्री मनले नखाएसम्म विवाहको निम्ति मात्र विवाह गर्नु गलत हो भन्थिन् । ती जापानी साथी त अहिलेसम्मै अविवाहित नै छिन् । वैकल्पिक चिकित्सा पद्धतिमा सेवाकै काम गरेर जीवन बिताइरहेकी छिन् ।

२०१८मा जापान जाँदा फेरि भेट भएको थियो उनीसँग । उनले नेपालमा केही राम्रो काममा खर्च होस् भनेर उनले मिहेनत गरेर कमाएको अलिकति पैसा मेरो हातमा राखिदिएकी थिइन् । त्यो पैसा मैले हुम्ला, जुम्लाबाट काठमाडौंको करुणा विहारमा बसेका साना भिक्षुणीहरुको निम्ति दान गरिदिएँ ।

उनी सेवामै समर्पित भएर आनन्दको जीवन बिताइरहेकी छिन् । २८ वर्षपछि भेट्दा पनि उनी उत्तिकै असल रहिछन् । सेवाभावले उनी अझै चहकिली र आनन्दित भएकी पाएँ । सरोजका ती साथी भने पछि स्विट्जरल्याण्ड पुगेछन् र थाइवानबाट त्यहाँ गएकी एकजना चिनियाँ मूलकै नर्ससँग बिहे गरेछन् । केहीगरि नेपाल आएछन् भने सक्दो सहयोग गरौँला भन्ने मानसिक तयारीमा हामी पनि थियौँ । अहिलेपनि फोनमा बरोबर कुरा हुन्छ उनीसँग सरोजको । उनी पनि खुसी नै छन् ।

बाँच्नु मात्रै त जिन्दगी होइन । खुसी भएर बाच्न सक्नु नै जीवनको सफलता रहेछ । जीवन भनेको यथास्थितिमै रहिरहने कुनै स्थिर चिज पनि होइन रहेछ । चिताउँदै नचिताएको कुरा– मेरो एकजना डाक्टरसँग विवाह भयो । मैले डाक्टर भनेर उनलाई रोजेकी थिइन– सुन्दर मनको, आफुसँग विचार मिल्ने असल मान्छे भनेर रोजेकी थिएँ । डाक्टर पर्नु त संयोग मात्र थियो ।

उनलाई बिरामीहरूले गरेको सम्मान र प्रेम देख्दा खुसी लाग्थ्यो । पछि पोष्टग्रयाजुएशन गर्दैगर्दा नजिकबाट उनको मिहिनेत र संघर्षलाई हेर्दा बुढाले गाह्रो विषय छानेछन् भन्ने पनि लागेको थियो । तर सुरुमा त म डाक्टरकी पत्नी नभएर एक भूमिगत राजनीतिक कार्यकर्ताकी श्रीमति न थिएँ । अहिले त्यो अर्कै कुरा भइसक्यो ।

चीनको बसाईँमा पाँचौँ वर्ष शुरु हुँदा जीवनमा धैरै उतार चढाव भोगिसकेका थियौँ । नजिकका साथीहरूको जीवनमा आएको उतारचढाव पनि देख्यौं । चिनियाँ साथीहरुकै पनि मनभित्रको भित्री संसार र उनीहरु बाँचिरहेको बाहिरी संसारलाई पनि देख्यौँ । यतिबेला भने चिनियाँहरुको अवस्था अरु देशका तुलनामा धेरै राम्रो छ । आर्थिक उन्नति मात्र होइन खुसीकै कुरा गर्दा पनि विभिन्न देशका मान्छेहरु भन्दा चिनियाँहरु बढि खुसी रहेछन् ।

सरोजका पुराना साथीहरू सँगको कुराकानीमा उनीहरूको पछिल्लो अवस्थामा भौतिक सुख सुविधासँगै मानसिक शान्ति पनि भएको बुझिन्छ । चीनमा पाँचवर्षे विद्यार्थीजीवन बिताएर फर्केको २५ वर्षपछि प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलकी सदस्यका रूपमा चीन पुगेकी थिएँ । त्यहाँको प्रगति देखेर अचम्म लागेको थियो ।

त्यसपछि २०१७ मा चीन जाँदा झनै छक्क परेका थियौँ हामी दुवै । तर यो प्रगति केले गरायो ? विचारले हो कि व्यवस्थापन क्षमताले ? भावनाले हो कि लक्षप्रतिको प्रतिबद्धताले ? केले गर्दा चिनियाँहरूमा विदेश जाने छटपटी हरायो ? आफ्नै देशको समृद्धि र स्थिरताले हो कि जतिबेला पनि बाहिर जान पाउने छुटले ?

प्रतिक्रिया दिनुहोस्