काठमाडौं । नेपाल लाइफ र राउन्ड टेबल नेपालले संयुक्त रूपमा सगरमाथा सफाइ गर्ने भएका छन् । बिहीबार काठमाडौंको ग्लोबल कलेजमा पत्रकार सम्मेलन गरेर उनीहरुले सगरमाथा सफाई गर्न लागेको जानकारी दिए ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईयो) प्रविनरमण पराजुलीले भने, ‘एक जना क्लाइम्बरले ८ केजी फोहोर गर्ने रहेछन्, यहि फोहोरलाई काठमाडौं ल्याउने र मिल्नेजति रिसाइकल गर्ने विषयमा राउन्ड टेबलसग सहकार्य भएको छ ।’

नेपाल लाइफलले यो सफाइका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । यति नै रकम राउन्ड टेबलले पनि गर्ने बताइएको छ ।
पराजुलीले भने, ‘नेपाल लाइफले १ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको र आफ्नै लगानीको यो पूर्वाधार चिनाउन पनि आजको प्रेसमि आयोजना गरिएको हो ।’
राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले विश्वको ध्यान आकर्षण हुने नेपालको शान सगरमाथा सफा राख्न यो सफाइ अभियान गर्न लागेको बताए । उनले यो सफाइ आभियानको सारथी तथा प्राबिधिक पार्टर सगरमाथा प्रदुषण नियन्त्रण समिति भएको बताए ।
कार्यक्रम राउन्ड टेबल नेपालका पूर्वअध्यक्ष नितेशकुमार अग्रवालले पहिलो चरणमा ५ हजार केजी फोहोर ल्याउने बताए । एक केजी काठमाडौं ल्याउन ५ सय खर्च हुने अनुमान राउन्ड टेबलको छ । यो सफाइमा करिब २५ लाख खर्च हुने पनि उल्लेख गरिएको छ ।
नेपाल लाइफ र राउन्ड टेबलबीच भएको दुई पक्षीय सहमतिपछि सगरमाथा प्रदुषण नियन्त्रणका अध्यक्ष छिरिङ शेर्पाले आफुहरुले ३० वर्षदेखि सफाइ गर्दै आउँदा पनि सबै नियन्त्रण नभएकोले अरु संस्थाको साथ सकारात्मक भएको बताए ।
यो वर्षपनि कम्तिमा ४००ले सगरमाथा आरोहण गर्ने, १५०० जना सगरमाथामा शिबिरमा पुग्ने शेर्पाले बताए। उनले आरोहणमा गएकालाई ल्याउन अनिवार्य गरेको बाहेकको फोहोर बर्सेनि बढ्ने गरेको बताए ।