
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्राान्तिकारी)ले स्ववियु निर्वाचनमा उत्साहजनक मतपरिणाम ल्याएको छ । यसअघि स्थानीय तहको उपनिर्वाचनमा पनि उत्साहप्रद मतपरिणाम माओवादीको पक्षमा आएको थियो । पछिल्लो देशभरका क्याम्पसहरूमा सम्पन्न स्ववियु निर्वाचनमा समेत उल्लेख्य सफलता हासिल गरेपछि माओवादी नेताहरु निकै हौसिएका छन् ।
नेपालको राजनीतिमा लामो सशस्त्र संघर्षमार्फत उदय भएको माओवादी केन्द्र विगतमा सत्तादेखि सत्तासम्म मात्रै केन्द्रित हुँदा जनमत निकै ओरालो लागेको थियो । पछिल्लो प्रचण्डको तेस्रो प्रधानमन्त्रीत्वकालका केही सुधारात्मक काम र जनतातर्फ फर्किने निर्णयपछि माओवादीको जनमत फेरि बौरिन थालेको भर्खरै सम्पन्न स्ववियु निर्वाचनले दर्साएको छ ।
मिनी जनमतका रूपमा हेरिने स्ववियु निर्वाचनमा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्राान्तिकारी)ले तेस्रो स्थान हासिल गरेको छ भने मतपरिणाममा पनि उल्लेख्य वृद्धि गरेको छ । यस निर्वाचनमा देशभरका अधिकांश प्रमुख क्याम्पसहरूमा क्रान्तिकारीको बलियो उपस्थिति देखिएको छ ।
यसले नयाँ पुस्ताको आकर्षण माओवादीप्रति कायम रहेको दर्साउँछ । अब पार्टी नेतृत्वले यसलाई पुँजीको रूपमा ग्रहण गर्दै आफूलाई रूपान्तरण गरेमा आगामी निर्वाचनमा समेत सकारात्मक मतपरिणाम आउने निश्चित छ ।
माओवादीमा पार्टी नेतृत्वको एकाधिकारवादी प्रवृत्ति र अकर्मण्यताले साङ्गठनिक जीवनमा तहसनहस बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकाधिकार र सत्ता केन्द्रित राजनीतिले गुमेको विश्वास फर्काउन उनी आफैँ सच्चिन जरुरी छ ।
माओवादी आन्दोलनको उदय र आजको दुरावस्थामा पनि पार्टी नेतृत्वमा प्रचण्ड नै रहेकाले दुवैको जिम्मेवारी उनी आफैँले लिनुपर्छ । १७ हजारभन्दा बढीको बलिदानीपूर्ण आन्दोलनबाट स्थापित पार्टी कसैको व्यक्तिगत लहड र महत्वकांक्षाले सकाउने कार्य कदापि स्वीकार्य हुँदैन ।
आफ्ना कमजोरीलाई सहस्र स्वीकार गरी जनताबीच गरिएका बाचा पूरा गर्ने तत्परता देखाए फेरि माओवादी पुनर्जीवित हुन बेर लाग्दैन । तर, मुख्य समस्या मूल नेतृत्वमै भएकाले त्यसका लागि प्रचण्ड नै सच्चिन जरुरी छ ।
माओवादीप्रति जनताको अझै साथ छ । उनीहरूको अपेक्षा अझै पनि माओवादीप्रति नै छ । तर, नेतृत्वमा आएको बदलावले आफ्नो आश्रयदाता वर्ग भुल्दा जनमत गुमाएको मात्रै हो । ती भुइँमान्छेलाई विश्वास दिलाउन सके जनमत फेरि माओवादीकै पक्षमा फर्कन सम्भव छ । अहिले आधारभूत वर्गतर्फ फर्किने र विगतका कमजोरी नदोहो¥याउने प्रतिबद्धता नेताहरूले गरे पनि जनता पूर्णतया विश्वस्त हुन व्यावहारिक रूपमै सच्चिन आवश्यक छ ।
माओवादी प्रति जनताको अधिक अपेक्षामाथि नेताहरूबाट पटक पटक तुसारापात हुँदा जनता रुष्ट भएका हुन् । पार्टी नेतृत्वको व्यक्तिवादी सोच र चिन्तन अनि पारिवारिक मोहलाई नजिक बाट नियालिरहेका इमानदार नेता कार्यकर्ताहरूले त्यसलाई अस्वीकार गरेकै परिणतिले आजको अवस्था निम्तिएको हो ।
हजारौँ नेपाली जनताका छोराछोरी पूर्णकालीन भएर देश बदल्ने सङ्कल्पसहित जनयुद्धमा होमिएका थिए । तर, त्यसबाट आर्जित शक्ति आफ्नो सत्ता लाभमा मात्रै सीमित गर्ने प्रचण्डको प्रवृत्तिलाई हरेक निर्वाचनमार्फत जनता र कार्यकर्ताले अस्वीकार गरेपछि माओवादी कमजोर अवस्थामा पुगेको हो ।
पार्टीमा आफ्ना प्रतिस्पर्धीलाई निषेध गर्ने प्रचण्डको प्रवृत्ति पनि माओवादी कमजोर हुनुको एक प्रमुख कारण हो । त्यसकै उपज अधिकांश सहकर्मी पार्टी परित्याग गर्न बाध्य भएका हुन् । संसदीय राजनीतिमा प्रवेश गरेपछि आलिसान महल जोड्ने, आसेपासे र नातागोता पोस्ने चरित्र अधिकांश नेताहरूमा अत्यधिक मौलायो भने अर्कोतिर प्रचण्डको अतिरिक्त पारिवारिक मोहले पनि जनताहरूमा माओवादीप्रति वितृष्णा पैदा गराएको हो ।
तर, पछिल्लो समय सरकारमा रहँदाका कतिपय सकारात्मक काम र विगतका कमजोरीको गम्भीर आत्म समीक्षासहित सच्चिने प्रतिबद्धताले माओवादीप्रति नयाँ पुस्ताको समेत आकर्षण बढेको संकेत स्ववियु निर्वाचनको मतपरिणाममा अभिव्यक्त भएको छ ।
यसलाई ग्रहण गरेर पार्टीको साङ्गठनिक अवस्था बलियो बनाएर वर्तमान गणतान्त्रिक व्यवस्था जोगाउने प्रमुख दायित्व पनि माओवादीले निर्वाह गर्न जरुरी छ । किनभने, हालको राजनीतिक परिवर्तनमा प्रमुख भूमिका पनि माओवादीकै रहेकाले यसलाई जोगाउने प्रमुख दायित्व पनि उसैको हुन्छ ।
यदि यो व्यवस्था गुम्यो भने गणतन्त्र प्राप्तिका लागि प्रमुख भूमिका खेलेको माओवादी जनयुद्धको औचित्य पनि समाप्त हुन्छ । जनयुद्धको औचित्य कायम राख्ने हो भने गणतन्त्र जोगाउन पनि सर्वप्रथम माओवादी र त्यसको मूल नेतृत्व सच्चिन अपरिहार्य छ ।
तसर्थ, अहिले गणतन्त्रप्रति जनताको असन्तुष्टिले उत्पन्न संकटबाट पार लगाउन समस्या जहाँबाट निम्तिएको हो त्यहीँबाट सुधार्न आवश्यक छ । आज पार्टी नेतृत्वकै कारण माओवादी दुराबस्थामा पुग्यो र त्यसकै उपज गणतन्त्रप्रति असन्तुष्टि बढेको कटु यथार्थलाई कसैले नकार्न मिल्दैन ।
विगत चार दशकदेखि नेतृत्वमा रहेका प्रचण्ड नै माओवादीको उदय र पतनका मुख्य जिम्मेवार हुन् । प्रचण्डमा देखापरेको अस्थिर राजनीतिक चरित्र र पदलोलुपताकै उपज अधिकांश सहकर्मी बाहिरिएपछि नै माओवादी कमजोर भएर नै वर्तमान उपलब्धिको विरुद्ध उत्रिन राजावादीहरूको मनोबल बढेको हो । त्यसैले आफ्नो पार्टीलाई बलियो बनाउन मात्रै होइन अहिलेको व्यवस्था जोगाउन पनि माओवादी सच्चिनै पर्ने बाध्यात्मक अवस्था निम्तिएको छ ।
यदि माओवादी नसच्चिने हो भने आफूसँगै वर्तमान व्यवस्था पनि भड्खालोमा जाने खतरा छ । प्रचण्डले व्यवस्था र पार्टी जोगाउन आफैँबाट सुधारको थालनी गर्न जरुरी रहे पनि उनी त्यसतर्फ उन्मुख देखिँदैनन् । अहिले पनि पार्टीलाई विधि पद्धतिमा लैजाने भन्दा पनि आफ्नै मनोगत चाहना अनुरूप सञ्चालन गर्दै आएका छन् ।
सम्पूर्ण प्राधिकार आफूमा निहित गरेका उनले एकल र स्वेच्छाचारी ढंगले पार्टी चलाउँदा आफूपछि पार्टी हाँक्ने सर्वस्वीकार्य उत्तराधिकारीको निर्माण गर्न सकेको छैन । चार दशक नेतृत्वमा रहेका प्रचण्डकोे शेष पछि माओवादी नेतृत्वविहीन भएर विघटनको अवस्था आउने कतिपयले आकलन पनि गर्ने गर्छन् ।
यसलाई रोक्न मूल नेतृत्वले पार्टीमा लोकतान्त्रिक विधिमार्फत नयाँ नेतृत्व चयन गर्ने परिपाटी विकास गरी नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउनुपर्छ । नयाँ पुस्ताको ज्ञान, सीप र क्षमता पार्टीको साङ्गठनिक जीवनमा उपयोग गरे मात्रै आजको सापेक्षतामा सबैको अपनत्व कायम हुने पार्टी बन्छ । त्यसैले मूल नेतृत्वमा रहेका प्रचण्ड नै रूपान्तरित भएर त्यस कार्यमा अग्रसरता बढाउनु अहिलेको आवश्यकता हो ।
सधैँ सत्तामा जान सौदाबाजी गर्ने प्रचण्डको चरित्र यथावत् रहिरहे माओवादी मात्रै होइन वर्तमान व्यवस्था नै नरहने खतरातर्फ ध्यान दिँदै सबै माओवादी नेताहरूले सचेततापूर्वक नेतृत्वमाथि दबाब बढाउन जरुरी छ ।