काठमाडौं । आज काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजाका समर्थक (राजावादी)ले शक्ति प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित समयअनुसार दुई पक्षले प्रदर्शन गर्न लागेको हो ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शनीमार्ग र पूर्वराजा समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकले तीनकुनेमा प्रदर्शन गर्दैछन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको छ । सुवेदी नेतृत्वको समूहले प्रदर्शनस्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।
एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।
आवश्यकता नुसार एसएसपी अधिकारीले कमान्ड सेन्टर र फिल्डमै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताएका छन् ।
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।
पूर्वराजालाई समर्थक चक्रपथ बाहिर
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिरमात्रै जुलुस निकाल्न दिनेगरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।
भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ । एसएसपी खनालका अनुसार मुठभेड हुन नदिन समाजवादी मोर्चा समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्रको बाटोबाट प्रदर्शनीमार्गतर्फ पठाइने छ ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् ।
सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ । प्रदर्शनमा अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरीलाई परिचालन गर्ने उपत्यका प्रहरी कार्यालयको तयारी गरेको छ ।