
काठमाडौं । गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर दूबै समूहले यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारेका हुन् ।
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।
उनले पहिले ११ बजे भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको बताए ।
राजावादीले तिनकुनेमा सभा राखेको छ भने गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ ।