
काठमाडौं । गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यवस्त भएको छ ।
गणतन्त्र समर्थक समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेको छ भने राजावादीहरुले कोटेश्वरको तिनकुनेमा प्रदर्शन गर्दैछन् ।
जसका कारण आज काडमाडौंका विभिन्न स्थानमा सवारी रुट डाइभर्ट गरिएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट भएको छ । रत्नपार्क जाने सवारी साधनलाई बागबजारबाट पुतलीसडक हुँदै डाइभर्ट गरिएको छ ।
पुतलीसडकको एकतर्फी आवागमन (वान वे) खुला गरिएको छ । त्यहाँबाट अनामनगर, माइतीघर वा कमलपोखरी तर्फ जान पाइने छ । त्यस्तै तीनुकनेमा शुरु हुन लागेको राजावादी प्रदर्शनलाई लक्षित गर्दै तीनकुने र जडीबुटीबाट त्यहाँ जाने सवारी साधनलाई रोक लगाइएको छ ।
तर, कोटेश्वर छिचोलेर पुग्नुपर्ने गन्तव्यका निम्ति वैकल्पिक रुट तोकिएको छैन । चालकले आफ्नो अनुकूलतामा जान पाइने सुविधा रहेको प्रहरीले जनाएको छ । यता तीनकुने बानेश्वर मुख्य लेन नै बन्द गरिएको छ ।