काठमाडौं । गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनका लागि ठाउँ ठाउँमा भेला हुनेक्रम सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु -यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।

एसईई परीक्षाका कारण १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिएपनि ११ बजेदेखि नै उनीहरु ¥यालीमा निस्किन थालेका छन् । समाजवादी मोर्चाको आयोजनामा गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा सभा गर्दैछन् ।
यसैगरी राजसंस्था पुनस्र्थापनाको पक्षमा रहेकाले राजावादीहरुले तीनकुनेमा सभा गर्दैछन् । प्रदर्शनीमार्ग र तीनकुने दुवै क्षेत्रमा सभाका लागि मञ्च तयार भइसकेको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो ।

समाजवादी मोर्चाका कार्यकर्ता बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा जुलुसमा मिसिन थालेका छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ । राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ ।
यस्तै, गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ । यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा जम्मा हुने छ ।