
काठमाडौं । काठमाडौंमा आज हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।गणतन्त्रवादीले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) र राजावादीले कोटेश्वरको तीनकुनेमा सभा आयोजवना गरेका छन् ।
प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन काठमाडौंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।
नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए ।
उनका अनुसाार सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्र्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गरिने छ । गर्ने यस्तै, प्रहरीले भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ ।
प्रदर्शनकारीले ‘अनावश्यक’ फोन नगरून् भनेर कल सम्पर्क टावरमा अवरोध गर्ने उद्देश्यले जामरको प्रयोग गरिने तयारी छ । राजावादी र गणतन्त्रवादी प्रदर्शनकारीबीच एकापसमा मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूका रुट फरक–फरक तय गरिएको छ ।
गणतन्त्रवादीभन्दा राजावादीको प्रदर्शन अराजक हुन सक्ने आँकलन गरिएको छ । उनीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न नदिने योजनासहित सुरक्षा टोली खटाइएको छ ।
गणतन्त्रवादीको प्रदर्शनको नेतृत्व समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन् ।
राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।