Logo
Logo

दुर्गा प्रसाईँको गाडिले निम्त्यायो ‘ताण्डव’: व्यक्तिको घरमा आगजनी, राजावादी भागाभाग 


11.7k
Shares

काठमाडौं । शुक्रवार (आज) दिउँसो काठमाडौंको तीनकुनेमा राजावादीहरूको शक्ति प्रदर्शन थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका कारण प्रदर्शन मध्यान्न १२ बजेदेखि राखिएको थियो ।

मध्यान्न १२ बजेदेखि प्रदर्शन सुरु हुने भनिएपछि समर्थकहरू साढे ११ बजेदेखि तीनकुने पुग्न थाले । साढे १२ बजेतिर सबै राजावादी भेला भए । तर, भेला भएको एक घण्टा नहुँदै आन्दोलन बिथोलिन पुग्यो । आन्दोलनकारी तितरबितर भए । 

प्रदर्शन सुरु भएको एक घण्टा नबित्दै राजावादी र प्रहरीबिच घम्साघम्सी सुरु भयो । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रदर्शन स्थलमा आइपुगेपछि राजावादीहरू उग्र रूपमा प्रस्तुत भए । निषेधित क्षेत्र तोड्ने प्रयास गरे । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार ग¥यो । र, प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्‍यो ।

दिउँसो १ः२३ दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भयो । सो गाडी रोक्न प्रहरीले रबरको गोली नै चलायो । गाडीको टायर नै ‘पम्चड’ भएको छ । 

उक्त गाडीले प्रहरीको पहिलो घेरा ताडेपनि दोस्रो घेरा तोड्न सकेन । अहिले गाडीलाई तीनकुने पुल छेउमा राखिएको छ भने गाडीमा सवार तीन जना घाइते भएका छन् । 

त्यसपछि स्थिति झनै तनावग्रस्त बन्यो । प्रहरीले अश्रुग्याँस प्रहार र लाठीचार्ज गर्‍यो । जवाफमा आन्दोलनकारीले ढुङ्गा प्रहार गरे । राजावादीले व्यक्तिको घरमा आगजनी समेत गरेको छ । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरूले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।

बलप्रयोगपछि दुर्गा प्रसाईँको टोली पछाडि हट्यो ।  पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ । दोस्रो घेरा शान्तिनगर गेटमा रहेको छ । त्यहाँ पनि प्रहरी तैनाथ छन् ।

राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरबितर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्