Logo
Logo

राजावादीको प्रदर्शनले अशान्त काठमाडौँ: जताततै आगजनी, तोडफोड र लुटपाट 


2.8k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा शुक्रबार गरिएको राजसंस्था पुनःस्थापनाको आन्दोलन हिंसात्मक बनेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शन प्रहरीसँगको भिडन्तमा परिणत भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीले पार्टी कार्यालय, निजी घर तथा सञ्चारमाध्यमहरूलाई निशाना बनाए । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड तथा आगजनी प्रयास गरेका छन् । त्यस्तै हिमालय टेलिभिजनको गाडीमा पनि तोडफोड भएको छ ।

कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा कम्तीमा आधा दर्जन गाडी जलेका छन् । पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय नजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ । 

माओवादी कार्यालयमा समेत तोडफोड र आगजनीको प्रयास भएको छ ।  नेकपा एमालेको कार्यालय नजिकै पनि प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् ।

त्यसैगरी राजावादीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएको छ । बालकुमारी क्षेत्रमा पनि सवारी साधन जलाइएको प्रहरीको भनाइ छ ।

पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड गरिएको छ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्रवेश गरी प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट गरेका छन् ।

नेपाली सेना राजावादीका नाममा भएका अराजकता र लुटपाट रोक्न खटिएको छ ।नेपाली सेनाले सैनिकसहितको गाडी विभिन्न स्थानमा परिचालन गरेको छ।

राजावादी प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा शुक्रबार अपराह्न ४ः२५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

यसैबीच राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी दिएको छ । 

यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्