काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष श्री प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीति पारित गरेको छ ।

कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराए ।
उनले नुन, खाद्य बस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराए । कर्पोरेसन उक्त वर्ष एक अर्ब ४ करोड ९७ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।
साधारण सभाले २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले शेयर होल्डरहरूलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै सुनकोसी नदी लगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेसन र कर्मचारीहरूका तर्फबाट समेत रु ६० लाख उपलब्ध गराएको थियो ।
कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत वहन गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर अनुमानित रासायनिक मल एमुनियक सल्फेट र सि.गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।