काठमाडौं । पूर्वनिर्धारित तालिका अनुसार नै आज (शुक्रबार) एकैदिन गणतन्त्रवादी र राजावादीले सङ्घीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै थिए ।
चार दलीय समाजवादी मोर्चाले गत फागुन ३० गते नै प्रदर्शनको मिति तय भएको थियो । यता, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि चैत्र ३ गते नै प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

त्यसपछि दुवै समूह आफ्नोमा बढी भीड देखाउन लागिपरे । दुवै समूहबिच मुठभेटको सम्भावना देखिँदै थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने उक्त कुराको हेक्का नराखी भड्कावपूर्ण अभिव्यक्ति दिइरहे । उनले ‘भारतलाई देखाइदिने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुन्ने’ चेतावनी समेत दिए ।
उनले राजावादीलाई भड्काउने अभिव्यक्ति बारम्बार दिए । गत फागुन २२ गते महोत्तरी पुगेर ओली पूर्वराजा शाहलाई दल खोलेर निर्वाचन लड्न चुनौती दिएका थिए । उनले भनेका थिए– ‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न । तपाईँलाई जहाँसुकै चुनाव लड्न खुला छँदै छ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस् । खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । एउटा घोस्ट भन्छ नि‘ छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न । अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो‘ यसोयसो पनि गर्ने, अप्ठेरो प¥यो भनेर फुत्त तानेर कछुवा तालले टाउको लुकाउने ?’
यसरी चुनाव लड्न चुनौती दिएको ओलीले त्यसको एक सता पछि अर्थात् फागुन २७ गते कोसी प्रदेशसभामा सम्बोधन गर्दै पूर्वराजा शाहको अराजक क्रियाकलापले देश अप्ठ्यारोमा परेको बताए । ‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ । म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन रु उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ ।’
त्यस्तै चैत्र तीन गते लोकतन्त्र हाइवे भएको र हाइवेमा ब्याक गेयर नलाग्ने दाबी गरे । गत आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन उनले भने– ‘डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन । डेमोक्रेसी इज अ हाइ वे । यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ ।
त्यसको चार दिनपछि ओलीले दरबार हत्याकाण्डसँगै सत्ता हत्याउने काम गरेको भन्दै पूर्वराजा शाह लक्षित टिप्पणी गरे । उनले भनेका थिए– ‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन, लोकतन्त्र कहाँ बच्यो रु ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानासाही भयो, अधिनायकवाद भयो भन्छन् । अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी लोकतान्त्रिक प्रणालीमा छौँ, यसमाथि धावा बोल्ने ?’
त्यसबेला राजावादी शक्तिहरू प्रदर्शनको लागि एकजुट हुँदै थिए । त्यसको कमान्ड ओली र प्रचण्डकै छत्रछायामा हुर्किएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थिए । जो, ओली र प्रचण्डलाई ‘मार्सी’ चामलको भात खुवाएर चर्चामा आएका थिए ।
अब कुरा गरौँ १५ चैत्रको….
गणतन्त्रवादी र राजवादीको प्रदर्शन मध्यान्न १२ बजे सुरु हुने भनिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बिहान ११ बजेसम्म भएकाले त्यसपछि मात्रै प्रदर्शन राखिएको थियो । बिहान साढे ११ बजेतिर दुवै समूहको प्रदर्शन सुरु भयो ।
प्रदर्शनको लागि छुट्टाछुट्टै स्थान तोकिएको थियो । समाजवादी माेर्चाकाे जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, सुनधारा हुँदै भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर कोणसभामा परिणत हुने तय थियो । राजावादी शक्तिले गर्ने प्रदर्शनको केन्द्र कोटेश्वर तिनकुने क्षेत्र बनाएको थियो ।
मुठभेट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे पाँच हजार सुरक्षाकर्मी परिचालन गरियो । त्यसमाथि सादा पोसकका प्रहरी समेत खटाइयो । मुठभेट हुन नदिए सुरक्षा निकाय सफल भयो । तर, राजावादीको उद्दण्डतामा निरीह बन्यो ।
प्रदर्शन यतिसम्म हिंसात्मक बन्यो कि दुई जनाको त मृत्यु र ३० जना घाइते भए । एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ ।
राजावादीको प्रदर्शन प्रहरीसँगको भिडन्तमा परिणत भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्यो । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रदर्शनकारीले पार्टी कार्यालय, निजी घर तथा सञ्चारमाध्यमहरूलाई निशाना बनाए ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड तथा आगजनी प्रयास गरेका छन् । त्यस्तै हिमालय टेलिभिजनको गाडीमा पनि तोडफोड भयो ।
कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा कम्तीमा आधा दर्जन गाडी जले । पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय नजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ । माओवादी कार्यालयमा तोडफोड र आगजनीको प्रयास समेत भयो ।
नेकपा एमालेको कार्यालय नजिकै पनि प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । त्यसैगरी राजावादीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएको छ । बालकुमारी क्षेत्रमा पनि सवारी साधन जलाइयो ।
पेरिसडाँडामा एउटा मोटरसाइकलसमेत तोडफोड भयो । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्रवेश गरी प्रदर्शनकारीहरूले तोडफोड र लुटपाट भयो ।
घुसपैठ शंका पहिल्यै थियो
पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए ।
एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो ।
बैठकमा समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण हुने भए पनि राजावादी समूहको गतिविधिबारे सचेत हुनुपर्ने औंल्याइएको थियो ।
विवादस्पद पृष्ठभूमिका दुर्गा प्रसाईं जोडिएपछि आन्दोलन अराजक बन्न सक्ने आँकल थियो, उनले परिस्थिति भड्काउन कोशिश गर्ने विषय समेत छलफलमा उठेको थियो । यसले गृहमन्त्री रमेश लेखक सुरक्षा व्यवस्थामा चुकेको प्रस्ट हुन्छ ।
राजावादीहरूको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईँ नै मुख्य दोषी भएको गृह मन्त्रालयको निष्कर्ष छ । तर, आन्दोलन पूर्वनिर्धारित र आन्दोलन हिंसात्मक हुने आकलन हुँदा हुँदै पनि गृहमन्त्री लेखेका सुरक्षा व्यवस्थापनमा चुकेको प्रस्ट पार्छ ।
आन्दोलनलाई धक्का !
भाटभटेनीबाट रक्सी, फ्रिज, फलफूल, तरकारी र अन्य सामान लुटिरहेको दृश्य हेरेर अब कोही पनि मानिस यस्तो आन्दोलनमा थपिने अनुमान गर्न सकिन्छ ? व्यक्तिको घरमा आगो लगाइएको र मानिस जिउँदै जलेको कारुणिक दृश्यले थप मानिसलाई अब दुर्गा प्रसाईको कथित आन्दोलनमा लामवद्ध हुन प्रेरित गर्छ ? कार्यक्रमबाट घर फर्कँदा शहरमा आगो झोस्दै, घर र गाडी जलाउँदै हिँड्ने कथित अभियन्ताको पछाडि कोही लामवद्ध होला ?
प्रसाईको कमाण्डिङमा शुक्रबार मच्चाइएको यो आतंकले शायद अब राजावादीहरूको अभियानलाई दशकौं पछाडि धकेलिदिएको छ । राजावादी आन्दोलनलाई नकारात्मक धक्का दिएको छ । नेताको घर–घरमा पसेर आक्रमण गर्नुपर्छ भन्दै आएका प्रसाईँ आफैंले खुट्टा कमाइसकेका छन् । उनले हताश हुँदै भनेका छन्, ‘कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’