
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका क्रममा आर्थिक लेनदेन गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले निर्देशन दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गर्ने लागेको छ । लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको लेनदेनको अडियोले स्पष्ट पारेको छ ।
सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरी सहित सचिवालयका कर्मचारी र केही वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएको थियो । लेनदेनको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।