Logo
Logo

सुध्रिँदै चीन–जापान सम्बन्ध : सैन्य क्षेत्रमा लगानी बढाउँदै जापान


- दृष्टि न्युज/संवाददाता

0
Shares

टोकियो, १४ माघ (एपी) । जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजाने पनि बताएका छन् ।
संसदमा सोमबार जापानको विदेश नीतिका बारेमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले दक्षिण कोरियासँग पछिल्लो समय उत्पन्न गतिरोधका बारेमा भने केही बताएनन् । तर, उनले दक्षिण कोरियालाई जापानको सर्वाधिक महत्वपूर्ण छिमेकी बताउँदै आएका थिए । प्रधानमन्त्री आबेले जापान–चीन सम्बन्धमा गत वर्ष अक्टोबरमा आफूले चीनको भ्रमण गरेयता सामान्य अवस्थामा आएको बताए ।
दुबै मुलुकबीच व्यापार र अरु क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उनले बताए । ‘जापान–चीन सम्बन्ध अहिले सुमधुर अवस्थामा छ । आगामी दिनमा सबै क्षेत्रमा यो सम्बन्धलाई थप विस्तार गर्ने मेरो चाहना छ’ उनले भने ।
अमेरिकासँग चीन र जापान दुबै मुलुकको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न भएसँगै दुबै मुलुक नजिएको अनुमान गरिएको छ ।
एसियाका परस्पर प्रतिस्पर्धी यी दुबै मुलुकको सम्बन्ध सन् २०१२ यता निकै कमजोर स्थितिमा पुगेको थियो । खासगरी, जापानको नियन्त्रणमा रहेका पूर्वी चिनीया सागरमा अवस्थित टापुहरुमा चीनले दाबी गरेपछि दुबै मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो ।
प्रधानमन्त्री आबले भने, ‘तैपनि, जापानले आफ्नो प्रतिरक्षा क्षमतालाई सुदृढ गर्नु आवश्यक छ, खासगरी अन्तरिक्ष र साइबर क्षेत्रमा ।’ जापानले विगतदेखि नै चीनको बढ्दो सैनिक उपस्थितिले क्षेत्रकै सुरक्षामा चुनौती उत्पन्न भएको बताउँदै आएको छ ।
हालैका वर्षहरुमा चीनले अन्तरिक्ष प्रविधिमा गरेको तिब्र विकासले जापानमाथि थप दबाब सिर्जना भएको छ । जापानी अधिकारीहरुले उत्तर कोरियाले निर्माण गरेका क्षेप्यास्त्र र आणविक अस्त्रले पनि अरु समस्या निम्त्याउने बताइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानले अमेरिकी सामान बढी मात्रामा खरिद गर्नुपर्ने भनी निरन्तर दबाब दिइरहनु भएको छ । यसै वर्ष दुबै मुलुकबीच व्यापार वार्ता शुरु हुँदैछन् । जापानले यसअघि नै निकै महङ्गा अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अरु हातहतियार खरिद गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्