
काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् ।
आर्थिक लेनदेनमा संलग्न भएको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले आज मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीले मन्त्री चौधरीलाई नैतिकताका आधारमा पदमा राजीनामा दिन निर्देशन दिएका थिए ।
सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिन्छ । तर उक्त कार्यविधि अहिलेसम्म पारित भएको छैन ।