
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।
राजावादीको प्रदर्शनमा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राणा पक्राउ परेपछि उनी पक्राउको सूचना संसद सचिवालय पुगेको हो । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।
यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।