काठमाडौं । तीनकुने घटनामा संलग्न भएको आरोपमा दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स’ (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । स्रोतका अनुसार उनी नेपाली सेनाका पूर्व क्याप्टेन हुन् ।

प्रहरी स्रोतका अनुसार उनलाई आज (शनिबार) बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
प्रहरीले राजावादीहरुको प्रदर्शनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाल लगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।
शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई पनि आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।