काठमाडौं । अहिलेका युवा छिटै ‘लाइमलाइट’मा आउन चाहन्छन् । नाम, दाम र पब्लिसिटी पाइने क्षेत्रतर्फ उनीहरू आकर्षित भइरहेका छन् । यसैबेला २३ वर्षीया शितल गिरीको सोख बन्यो, ‘बाइक राइडर’ । बाइकमा पहाड, डाँडापाखा घुम्नु उनको सोख हो । रहर र सौखले बाइक राइडर बनेकी शितलका लागि अहिले त्यही आम्दानीको स्रोत बनेको छ ।

शितल मोटरसाइकलमा घुम्दै भिडियो बनाउँछिन् । त्यसरी नै उनको ६ वर्ष वितिसक्यो । उनी भन्छिन्, ‘मोटरसाइकल यात्राको क्रममा मैले भोगेका, सुखदुःखका अनुभव र दृश्यलाई भिडियोमार्फत देखाउँदै आएकी छु । यसबाट आम्दानी पनि भइरहेको छ ।’ त्यसो त नेपालमा महिला राइडर एकदमै कम छन् । तीमध्ये एक हुन् शितल । उनै ‘बाइक राइडर’ शितल गिरीसँग जम्काभेट ।
‘बाइक राइडर’ बन्ने सोच कसरी आयो ?
सानैदेखि दादाले बाइक चलाएको देख्दा मलाई पनि चलाउन मन लाग्थ्यो । सानोमा म केटा स्वभावकी थिएँ । मेरो रुचिलाई बुझेर दादाले घरमै बाइक सिकाउनुभयो । बाइक सिक्दै जाँदा बाइकमा यसरी मोह जाग्यो कि बाइक नै मेरो सोख र रहर बनिदियो ।
पहिलोचोटी एक्लै बाइक लिएर कहाँ जानुभयो ?
बाइकमा पहिलो पटक बन्दिपुर गएकी थिएँ । त्यहाँ दुईदिन लागेको थियो । डाँडाकाँडा र प्रकृतिसँग खेल्दै, रमाउँदै डाँड्नुको मज्जा नै बेग्लै भयो । अहिलेसम्म नेपालको पचासभन्दा बढी जिल्ला बाइकमा घुमिसकेकी छु ।
एक्लै बाहिर हिँड्न थालेपछि के परिवर्तन पाउनुभयो ?
मैले आफूमा धेरै परिवर्तन पाएकी छु । साँच्चै भन्ने हो भने एक्लै घुम्न, डुल्न थालेपछि आत्मविश्वास बढेको छ । छोरी मान्छे यसरी एक्लै हिँड्न हुँदैन भनेर बन्देजमा राखिनुभन्दा अनुशासनमा बसेर छोरीहरूलाई कन्फिडेन्ट बनाउनु राम्रो हो ।
एक्लै बाइकयात्रामा निस्कँदा कस्तो अनुभव भएको थियो ?
आजसम्म धेरै ठाउँमा बाइकमा यात्रा गरेकी छु । बन्दीपुर यात्रामा मैले फरक अनुभव गरेकी थिएँ । बाटो फरक थियो, तर गन्तव्य भने एउटै थियो । जहाँ सुरु गरेको यात्रालाई पूरा गर्नुपर्छ । अहिले पनि त्यही विश्वास लिएर यात्रा गर्छु ।
तपाईँ कुन बाइक चलाउनु हुन्छ ?
क्रसफायर मोटरसाइकल बाइक चलाउँछु ।
बाइकमा लामो यात्रा गर्नु कतिको कठिन छ ?
कति ठाउँमा बाटोहरू अप्ठ्यारो हुन्छ । कतिपय ठाउँ सुनसान हुन्छ । त्यो सोच्यो भने डरै डरमा बसिन्छ । तर, आँट गर्न भने छोड्नुहुँदैन । बिग्रिरिएका धेरै बाटोहरू सम्बन्धित निकायले बनाइदिए हामीजस्ता जनतालाई धेरै सहज हुन्थ्यो ।
तपाईँ एक ‘लेडी राइडर’ हुनुहुन्छ । समाजले के भन्छ ?
सकारात्मक र नकारात्मक दुवै कुरा गरिरहेका हुन्छन् । तर, मेरो अगाडि आएर कसैले केही भनेको छैन । तर, मेरो बाबा–ममीको अगाडि ‘उमेर पुगेको छोरी, पढेकी छोरी राम्रै व्यवसाय गरे हुन्थ्यो, यो काम नलाग्ने क्षेत्रमा लागेर के फाइदा’ भन्छन् रे । तर, मलाई त्यस्तो लाग्दैन ।
‘बाइक राइड’ गरिरहँदा बिर्सन नसुक्ने केही त्यस्ता क्षण छ ?
छ, ममीलाई बाइकमा राखेर काठमाडौंबाट नेपालगन्ज लगेकी थिएँ । दादालाई घान्दुक लगेको थिएँ । यो पल मेरो लागि एकदमै रमाइलो पल हो । म कहिल्यै बिर्सन सक्दिनँ ।
लामो यात्रामा एक्लै बाइकमा हिँड्दा केटाहरूले के भन्छन् ?
कति जनाले ‘वाह’ भन्नुहुन्छ । कतिपयले ‘बकवास’ भन्नुहुन्छ । तर, म भन्छु– आजका महिलाहरूमा जोसको कमी छैन । महिलाहरूले पनि आफूले चाहेको काम गर्न सक्छन् । म समाजले हेर्ने आँखालाई परिवर्तन गर्न चाहन्छु ।
बाइक राइड गरेर कहाँ कहाँ पुग्नुभएको छ ?
आजसम्म दोलखाको कालिञ्चोक, मकवानपुरको दामन, नुवाकोटको दुप्चेश्वर, मुगुको राराताल, कास्कीको घान्द्रुक, स्याङजाको सिरुवारी, मनाङ मुस्ताङदेखि शे फोक्सुन्डो, रुकुमकोटसम्म बाइकमा एक्लै यात्रा गरिसकेको छु । यात्रामा रोमाञ्चित प्राकृतिका दृश्यहरु भिडियोमा कैद गर्दै हिँड्नुमा बेग्लै मज्जा छ ।
ती भिडियो तथा फोटोहरू आफ्नै युट्युब च्यानलमा राख्नुहुन्छ कि बेच्नुहुन्छ ?
बेच्दिनँ, म आफ्नै युट्युबमा राख्ने गर्छु । मलाई लाग्छ– यो आजको जरुरी पनि हो । यही युट्युवमा मेरो भिडियो हेरेर मलाई समर्थन र माया गर्नेहरू धेरै पाएकी छु । मैले गरेका कामलाई धेरैले प्रशंसा गर्नुभएको छ ।
यसबाट आम्दानी कति हुन्छ ?
हामीलाई बाइक कम्पनीहरूको पनि स्पोन्सर आउँछ । बाइकको प्रमोसन गर्छौँ । योबाहेक म बाइक प्रशिक्षक पनि हुँ । म विभिन्न दुई संस्थामा आबद्ध छु । जसमा हिंसामा परेका पीडित महिलाहरू जो बाइक सिक्न इच्छुक छन्, उनीहरूलाई बाइक सिकाउँछु । सुरुमा आर्थिक अवस्थाको कारण बाइक किन्न सक्दैनन्, त्यो अवस्थामा हामी बाइक दिन्छौँ । काम गर भन्छौँ र कमिसन लिएर पनि काम दिन्छौँ । यो क्षेत्रबाट कमाइ पनि राम्रै छ ।
आगामी दिनका लागि केही योजना बनाउनुभएको छ ?
धेरै छन् योजनाहरू । हेरौँ कहाँसम्म पुगिन्छ ।
विवाहपछि तपाईँको यो पेसामा केही असर पर्ला कि ?
अहिले म यही प्रश्नले नै मौन हुन्छु । तर, भोलिको दिनका कुरालाई लिएर आज खराब गर्दिनँ ।
तपाईँ ‘बाइक राइडर’ कि कलाकार पनि हो ?
मैले आधा दर्जनबढी म्युजिक भिडियो र टेलिसिरियलमा पनि काम गरिसकेको छु । राम्रै प्रशंसा पनि पाएकी छु । यो कामबाहेक अरु पनि मौकाहरू आइरहेका छन् । मलाई चलचित्रको मुख्य नायिका भएर अभिनय गर्ने इच्छा छ ।