Logo
Logo

सिटौलाले भने- तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तीनकुने क्षेत्रको घटना तथा आगजनीबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । शनिबार बिपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना कार्यक्रममा उनले शुक्रबार भएको घटनाबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

नेता सिटौलाले भने, ‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा घटेको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जबाफ दिनुपर्छ ।’ उनले पूर्वराजाले सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल राख्नुपर्ने पनि बताए ।

‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ’ नेता सिटौलाले भने, ‘उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

ज्ञानेन्द्रलाई राजाहुँदा जस्तै व्यवहार नदेखाउन आग्रह गर्दै सिटौलाले भने, ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’

राजाहरूको पटकपटकको लोकतन्त्रमाथि अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै उनले भने, ‘गणतन्त्र अहिलेको महान उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो, यी उल्टिदैनन् ।’

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापना गर्न भन्दै शुक्रबार तीनकुने क्षेत्रमा भेला भएको राजावादीहरुको प्रदर्शनका क्रममा पार्टी कार्यालय, निजी घर, सुपर मार्केट, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए । साथै, एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्