काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको जरिवाना तोक्ने निर्णयलाई हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा तोडफोडमा उत्रिएपछि क्षति मूल्यांकन गरेर महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
त्यसबारे कमल थापाले समाजिक सञ्जालमा लेखेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो स्टन्ट भयो । मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला ? म अलमलमा छु ।’
उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।
थापाले भनेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’