काठमाडौं, २८ असार । ‘सहाना प्रधानः नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । नेपालको वामपन्थी आन्दोलन र महिला आन्दोलनकी अग्रणी नेता स्वर्गीय सहाना प्रधानले महिला अधिकार स्थापनाका लागि गरेको योगदान र संघर्षबारे समावेश पुस्तक नेकपाका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले जुममार्फत विमोचन गरे ।
पुस्तक विमोचन गर्दै उपाध्यक्ष गौतमले नेपाली कम्युनिस्ट आन्दोलनको अग्रणी नेता सहाना प्रधानले डोहो¥याएको बाटोमा आफू सदैव लाग्ने प्रतिवद्धता गरे । महिला आन्दोलन र वामपन्थी आन्दोलनकी अगुवा स्वर्गीय प्रधानको भूमिका र योगदान भावी पुस्ताका लागि समेत अनुकरणीय रहेको भन्दै उपाध्यक्ष गौतमले सहानाजस्ता निडर र साहसिक योद्धाहरुको संघर्षको मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
पुस्तकको प्रकाशक ‘सहाना प्रधान प्रतिष्ठान’की अध्यक्ष तथा सांसद रामकुमारी झाँक्रीले महिलाको इतिहासको कदर गर्ने संस्कारको विकास गर्न र राजनीतिक तथा सामाजिक आन्दोलनकी अग्रणी सहानाको योगदानको सम्मान गर्न यो पुस्तक प्रकाशन गरिएको बताइन् । अध्यक्ष झाँक्रीले प्रतिष्ठानले आगामी दिनमा स्वर्गीय प्रधानले गरेका साहसिक कामहरुको दस्तावेजीकरण गर्ने र खोज अनुसन्धान गर्दै जाने पनि बताइन् ।
सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठले सहाना प्रधान देशका लागि ठूलो व्यक्ति भए पनि आफ्नो लागि केवल आमा भएको भन्दै आमाले दिएको असल संस्कार नै आफ्नो लागि ठूलो सम्पत्ति भएको बताए । कार्यक्रमका अतिथि गोपाल खनालले सहानाजस्ता कर्मठ महिलाको इतिहासलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
पुस्तकमा नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनमा सहाना प्रधानले गरेको कठोर संघर्ष र योगदानबारे २७ जना लेखकका विचार समावेश गरिएको पुस्तकका सम्पादक लोग्शरी कुँवरले बताइन् । प्रकाशक सहाना प्रधान प्रतिष्ठानकी महासचिव कला राईले विमोचन कार्यक्रममा लेखक, अधिकारकर्मीलगायत सहभागीले स्वर्गीय प्रधानका कामहरुको चर्चा गरेको बताइन् । उनले बन्दाबन्दी खुलेलगत्तै पुस्तक बजारमा पठाइने जानकारी दिइन् ।